जनता टाइम्स

४ फाल्गुन २०७६, आईतवार ०९:२८

सरकारी व्यवस्थापन देखेर क्वारेन्टाइन पुगेका विद्यार्थी दंग, विरामी देखिए टेकु वा पाटन लैजाने


काठमाडौं, फागुन ४

कोरोना भाइरस प्रभावित क्षेत्र चीनको वुहानबाट उद्धार गरी भक्तपुर ल्याइएका नेपाली विद्यार्थीले सरकारी व्यवस्थापन देखेर खुशी व्यक्त गरेका छन् । १ सय ७५ नेपालीलाई आज विहान भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको छ ।

चार वटा बसमा १७५ जनालाई खरिपाटीको क्वारेन्टाइन र लिन गएको विमानका पाइलट, को–पाइलट, परिचारिका तथा स्वीपर सहित १७ जनालाई एउटा बसमा प्रहरीको स्कटिङसहित बिहान चाँगुनारायण नगरपालिका–६ नगरकोटस्थित खानेपानी तालीम केन्द्रमा बनाइएको क्वारेन्टाइनमा पु¥याइएमा राखिएको छ । खरिपाटीको क्वारेन्टाइनमा नेपाली सेनाका डा नवीन फुयाँलको नेतृत्वमा नर्ससमेत रहने स्वास्थ्य टोली प्रवेश गरेको छ । सो टोलीले क्वारेन्टाइनमा आज बिहान उनीहरुको शरीरको तामक्रम नापेको बताइएको छ । आज नै फर्काइएका ती १७५ को रगत सङ्कलन गरी परीक्षणका लागि पठाइने बताइएको छ ।

त्यहाँ पुगेपछि उनीहरूले नेपाल सरकारले आफूहरूले सोचेभन्दा राम्रो व्यवस्था गरेको भन्दै खुसी व्यक्त गरेका छन् । ‘हामी समस्याबाट नै आएका हौं। सरकारले जे जति गरेको छ। हाम्रो अपेक्षाभन्दा राम्रो गरेको छ,’ क्वारेन्टाइनमा रहेका अशोक साहले भने, ‘साबुन, पानी , बेड, चप्पल सबै अलग अलग दिइएको छ। हामी व्यवस्थापनबाट सन्तुष्ट छौं।’

वुहान ५५ , झिङझाओ ४८, सियन २९ , इन्सी २६ , जिङमेन ९ र यिचाङबाट ८ जना गरी १३४ पुरुष र ४१ महिलासहित १७५ लाई नेपाल ल्याइएको हो । कोरोना भाइरस सङ्क्रमति क्षेत्रबाट ल्याउन लागिएका नेपालीलाई खरिपाटी र नगरकोटमा राख्नु हुदैन भन्दै दैनिक आन्दोलन भए पनि आज कसैले अवरोध गरेनन् । सरकारले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार क्वारेन्टाइन निर्माण गरेको छ ।

कुनै कुराको आवश्यक परेमा कन्ट्रोल रुम र रोगको लक्षण देखिएमा सिधै डाक्टरलाई फोन सम्पर्क गरी स्वास्थ्य जाँच गरिनेछ । जाँचमा शङ्कास्पद देखिए क्वारेन्टाइन अगाडि तयारी अवस्थामा रहेको एम्बुलेन्सले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल वा पाटन अस्पताल वा शसस्त्र प्रहरी अस्पतालमा अविलम्ब स्थानान्तरण गरिनेछ । सरकारले विभिन्न अस्पतालमा १४७ वटा आइसोलेसन वार्ड तयार पारेको छ ।