जनता टाइम्स

५ फाल्गुन २०७६, सोमबार ०९:०६

जिल्लाबासीको न्यानो माया पाउनु भएका प्रधानमन्त्रीले भन्नुभयो – ‘शंका नगर्नुस्, भनेको कुरा पुर्‍याउँछु’


झापा, फागुन ५

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले गरेको उद्घोष र वाचा पूरा गर्न आफ्नो स्वास्थ्यले नरोक्ने बताउनु भएको छ । आइतवार गृहजिल्ला झापा पुग्नु भएका उहाले आफ्ना स्वास्थ्यका विषयमा बोल्नु भएको थियो ।

विभिन्न विकासका कामको उद्घाटन पुग्नु भएका प्रधानमन्त्री ओलीले रोगले च्यापे पनि देशको विकासका लागि कहिल्यै नथाक्ने उद्घोष समेत गर्नुभयो । ‘बरु शरीरभित्रै तार र ब्याट्री जडान गरेर भए पनि जनताका सपना पूरा गर्नेछु’, प्रधानमन्त्री ओलीको भनाई थियो । स्वास्थ्यका विषयमा बोल्दा केहीबेर भावुक बन्नुभएका उहाले आफू पटकपटक शरीर चिरेर पनि बाँचेको बताउँदै भन्नुभयो, ‘अब स्वास्थ्यकै कारण ओलीले भनेका कुरा पूरा नहोला कि भन्ने शंका नगर्नुस्, भनेको कुरा पुर्‍याउँछु।’

पञ्चायत, तानाशाह, राजतन्त्र लगायतका शक्तिसँगै अनेक रोगसँग समेत एकसाथ लड्दै आए पनि आफू नथाकेको र लड्नु पर्ने क्रम अझै नरोकिएको उहाको भनाइ छ। केही शक्तिले फर्कीफर्की झम्टन खोजे पनि अब सफल हुन नदिने उहाले बताउनु भयो । सरकारले सुरु गरेको विकास र समृद्धिको काम देखेर देशी, विदेशी तथा प्रतिक्रियावादी शक्ति चलखेल गर्न थालेको बताउदै त्यस्ता चलखेलविरुद्ध वर्तमान सरकार निर्धक्कका साथ जुधिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

झापाबाट फर्किने क्रममा जिल्लाबासीको न्यानो माया पाउनु भएका प्रधानमन्त्री ओलीले सबैलाई सम्झिएको बताईदिन पनि उपस्थित सँग आग्रह गर्नुभयो । “यस क्षेत्रका जनताप्रति कृतज्ञता र आभार व्यक्त गर्छु”, उहाँले भन्नुभयो, “तपाईंहरुकै कारण देश र जनताका निम्ति काम गर्न पाएँ, घरघरमा गएर बालबालिकालाई मेरो स्नेह सुनाइदिनोस् र ज्येष्ठ नागरिक, साथीभाइ सबैलाई मेरो नमस्कार सुनाइदिनोस् ।”

आफूले धेरै वर्षअघि दमक नगरपालिकामा चक्रपथ बनाउने सपना देखेको र आज पूरा भएको उहाँले बताउनुभयो । उहाँले देशले विकासको बाटो लिएको बताउँदै आआफ्ना स्थानबाट आत्मविश्वास र उत्साहका साथ सबैलाई जुट्न आग्रह गर्नुभयो ।