जनता टाइम्स

५ फाल्गुन २०७६, सोमबार ०९:१९

उपप्रधानमन्त्री पोखरेल सेनाका प्रतिनिधिसहित कालापानीमा


दार्चुला, फागुन ५

भारतले मिचेको कालापानी क्षेत्रको अवलोकनका लागि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल त्यसतर्फ प्रस्थान गर्नुभएको छ । उहा आज विहान दार्चूलाबाट नेपाली सेनाको हेलिकोप्टरबाट त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

दार्चूला प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले दिएको जानकारी अनुसार सेनाको एनए ०५८ नम्बरको हेलिकोप्टर लिएर रक्षा मन्त्री पोखरेल बिहान साढे आठ बजे त्यसतर्फ जानु भएको छ । ब्यास गाउँपालिका वडा नम्बर १ गागामा स्थापना गरिने सशस्त्र प्रहरीको बिओपी निर्माण गरिने ठाउँ र कालापानीको वस्तुस्थिती बुझ्न मन्त्रीसहित जनप्रतिनिधी र सेनाका प्रतिनिधि त्यसतर्फ गएको पौडेलले जानकारी दिनुभयो ।

हिजो दार्चुला आइपुग्नु भएका मन्त्री पोखरेलले त्यहास्थित नेपाली सेनाको व्यारेक निरीक्षण गर्नुभएको थियो । भ्रमणका लागि गृह मन्त्रालयले आवश्यक सुरक्षा व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रधान कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिइसकेको छ । उपप्रधानमन्त्रीको टोलीमा १० जना सहभागी रहेको जनाइएको छ।