काठमाडौं, फागुन ११ । सरकारले छाउपडी प्रथा अन्त्य गर्ने अभियानलाई तीव्रता दिएको छ । छाउपडी प्रथा अन्त्य गर्ने अभियान अन्तरगत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आगामी जेठ १३ गतेदेखि १५ गतेसम्म ‘अन्तराष्ट्रिय मर्यादित महिनावारी कार्यशाला गोष्ठी’को समेत आयोजना गर्ने भएको छ ।
आईतबार मन्त्रालयले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गुरुङले सामाजिक कलंकको रुपमा रहेको छाउपडी प्रथालगायतका सामाजिक कुरीति र अन्धविश्वासबाट देशलाई मुक्त गराउने अभियान अन्तरगत सो अन्तराष्ट्रिय स्तरको सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिनुभयो । उहाँले ३० भन्दा बढी देश सहभागी हुने सो अन्तराष्ट्रिय सम्मेलनले नेपाललाई मर्यादित महिनावारीको देशको रुपमा चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । दोस्रो राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर आयोजना गर्न लागिएको सो गोष्ठीको मूल नारा ‘महिनावारीका कुरा, मर्यादा केन्द्रित भए मात्रै हुन्छ पूरा’ भन्ने रहेको छ ।
गोष्ठीमा महिनावारीका विभिन्न पक्षहरु भान्सादेखि संसदसम्म महिनावारी निषेधको अन्त्य, यौनिक तथा प्रजनन स्वास्थ्य अधिकार, धार्मिक मान्यता, सरसफाई छाउपडीलगायतका सामाजिक कूरीति अन्त्यका लागि आवश्यक ऐन, कानुन र नीतिको बारेमा छलफल गरिनेछ । सोही अवसरमा मन्त्री गुरुङले महिनावारीलाई मानव अधिकारको दृष्टिबाट हेर्नुपर्नेमा पनि जोड दिनुभयो । सबै प्रकारका सामाजिक विभेद अन्त्य गर्दै सभ्य समाज निर्माण गर्ने सरकारको योजना अनुसार नै मन्त्रालयले छाउपडी प्रथा अन्त्यको अभियानलाई तीव्रता दिनु परेको मन्त्री गुरुङको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्