जनता टाइम्स

१२ फाल्गुन २०७६, सोमबार १६:४७

बुटवल उपमहानगरको शिक्षा योजना सार्वजनिक : यस्तो छ सबैको पहुँच पुर्याउने लक्ष्य


बुटवल, फागुन १२ । बुटवल उपमहानगरपालिकाले शिक्षा योजना तयार पारेको छ । आगामी पाँच वर्षभित्रमा प्रत्येक वालवालिका, व्यक्ति र समूदायलाई उत्पादनमूलक तथा व्यवहारिक शिक्षाको पहुँच पुर्याउने दूरदृष्टि रहेको ‘बुटवल शिक्षा योजना’ सार्वजनिक गरेको छ ।

आज आयोजित एक समारोहबीच प्रमुख बुटवल उपमहानगरका प्रमुख शिवराज सुवेदीले शिक्षा योजना सार्वजनिक गर्नुभयो । सो अवसरमा उहाँले उपमहानगरपालिकाले शिक्षालाई पहिलो प्राथमितामा राखेको बताउनुभयो । उहाँले सबल आर्थिक केन्द्र समुन्नत बुटवलमार्फत समृद्ध बुटवल, सुखी जनताको लक्ष्य हासिल गर्नेगरि बुटवल उपमहानगरले आवधिक र दीर्घकालीन महत्वका योजनाहरु तय गरेको उल्लेख गर्दै सहकार्यका साथ कार्यान्वयन गरिने बताउनुभयो । उहाँले शिक्षा योजना तयार पार्ने क्रममा सरिक भएका विभिन्न विषयका विज्ञ, प्राविधिक, शिक्षासंग सरोकारवालाहरुलगायत सबैलाई धन्यवाद ज्ञापन गर्दै कार्यान्वयनमा पनि सबैको सहकार्य र सहयोगको खाँचो रहेको बताउनुभयो । उत्पादनमूलक तथा व्यवहारिक, सिपयुक्त व्यवसायिक र प्राविधिक शिक्षाको पहुँच सबैमा पुर्याउने योजनाको दूरदृष्टिलाई साकार पार्नेतर्फ केन्द्रित हुन उहाँले सबै सरोकारवालाहरुलाई आग्रह गर्नुभयो ।

राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय रूपमा देखिएको वर्तमान शिक्षाको व्यवस्थापन र गुणस्तरीयताको चुनौतिलाई सामना गर्दै विकसित भइरहेको नयाँ–नयाँ प्रविधि र ज्ञानविज्ञानको क्षेत्रलाई समेट्दै सम्पूर्ण बालबालिका, युवा तथा जेष्ठ नागरिकहरूको समेत मैलिक आधिकारको संरक्षण गर्दै उनीहरूलाई सहज, सुलभ, सरल तथा आवश्यकता अनुसार शिक्षा प्रदान गर्नकै लागि २०७६/७७ देखि २०८०/८१ सम्मको पञ्चवर्षीय शिक्षा योजना सरोकारवाला पक्षको सहभागीतामा तयार पारिएको प्रमुख सुवेदीले बताउनुभयो ।

नगरपालिकाभित्रका शैक्षिक मुद्दा तथा चुनौतिहरूलाई प्राथमिकताका आधारमा समाधान गर्नका निमित्त प्रदेश तथा यस नगरपालिका सम्बद्ध जनप्रतिनिधि, वडा शिक्षा समिति, विद्यालयहरू, प्राविधिक तथा सीपमूलक शिक्षण संस्थाहरू, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक, अन्य सम्वद्ध शैक्षिक संस्थाहरूको अन्तरक्रिया, छलफल सम्पन्न गरी योजनाको निर्माणमा प्राथमिकता प्रदान गरिएको शिक्षा, स्वास्थ्य तथा जनशंख्या महाशाखा प्रमुख मित्रमणि खनालले जानकारी दिनुभयो ।

यस्तो छ योजनाको दूरदृष्टि

आगामि पाँच वर्ष्भित्र बुटवल उपमहानगरपालिकामा शिक्षा प्राप्त गर्न सक्ने उमेर समूहका प्रत्येक वालवालिका, व्यक्ति र समूदायलाई उत्पादन मूलक, व्यवहारिक तथा सिपयुक्त व्यवसायिक र प्राविधिक शिक्षाको पहुँच पुर्याउने योजनाको दूरदृष्टि रहेको छ । बुटवल उपमहानगरको पाँच वर्षे शैक्षिक योजना अन्तरगत सबै सामुदायिक विद्यालयहरुलाई मण्टेश्वरी प्रणालीमा लैजाने, आधारभूत तहको शिक्षालाई अनिवार्य र स्थानीय विषयहरुलाई समेत पाठ्यक्रममा समेट्ने योजना रहेको योजना निर्माण कार्यदलका संयोजक छवि नेपालले जानकारी गराउनुभयो ।

शिक्षालाई सूचना प्रविधी मैत्री र हिंसा मुक्त मनाउनका लागि बालबालिकाहरुलाई भयरहित वातावरणमा शिक्षा प्रदान गर्ने योजनालाई अगाडि बढाइएको उहाँको भनाइ छ । यसैगरी पञ्चवर्षिय शैक्षिक योजनामा कक्षा ९ देखि कक्षा १२ सम्मको शिक्षालाई प्राविधिक शिक्षाको रुपमा थप व्यवस्थित गरी अगाडि बढाउने, विद्यालय नक्सा तयार गरी अनावश्यक विद्यालयहरुलाई सेक्टर वेसमा समायोजन गर्दै लैजाने तथा विद्यालय ग्यापको आधारमा आवश्यक ठाउँमा विद्यालय स्थापना गर्ने योजनामा छ ।

योजनाको वृहत उद्देश्य

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमवाट विकास र समृद्धिको परि कल्पनालाई नेपालको संविधानले मौलिकहकको रूपमा धारा ३१ मा शिक्षा सम्बन्धी हकको व्यवस्था गरी प्रत्येक नागरिक र समूदायले प्राप्त गर्न सक्ने हकलाई कार्यान्वयन गर्न सक्ने गरी अनुसूची–८ अनुसार आधारभूत तथा माध्यमिक शिक्षाको व्यवस्था गर्न यस उपमहानगर क्षेत्रभित्र कुनै पनि समूदायमा कुनै पनि वालवालिका विद्यालयको पहुँच वाहिर हुने छैनन् भन्ने उद्देश्य रहेको छ । भरपर्दो तथ्य एवं तथ्यांकको आधारमा प्रत्येक वालवालिका, महिला, प्रौढ तथा जेष्ठ नागरिकलाई निःशुल्क र अनिवार्य रहेको आधारभूत तहको शिक्षा प्रदान गर्न माध्यमिक शिक्षालाई निःशुल्क गर्न र आवश्यक व्यवस्था गर्ने यसको मूल उद्देश्य रहेको उपमहानगरले सार्वजनिक गरेको शिक्षा योजनामा राखिएको छ ।

यस्तो छ योजनाको लक्ष्य

यहीँ फागुन ३ गते ६१ औं स्थापना दिवस मनाएको बुटवल उपमहानगरपालिकाले ‘सवल आर्थिक केन्द्र, समुन्नत बुटवल” बनाउने लक्ष्यका साथ अघि बढिरहेको छ । जनता शिक्षित नभए सम्म अन्य आधारभूत कुराहरू पूरा गर्न नसकिने हुँदा सर्वप्रथम व्यवसायिक, सीपयूक्त तथा रोजगार मूलक प्राविधिक शिक्षालाई वहूआयामिक क्षेत्रमा रोजगारीको अवसर सृजना गरी सोहि मुताविकको शिक्षा दिन सक्ने प्राविधिक तथा व्यावसायीक विद्यालयको स्थापना गर्नु पर्नेछ । ‘एक घर एक रोजगार, एक शिक्षित एक साक्षर’ बनाउन छोरी शिक्षकको व्यवस्था गरी प्रत्येक टोलमा सामूहिक/सामूदायिक वा सहकारी शिक्षा कार्यक्रम व्यवस्था गर्नुपर्ने हुन्छ ।

आगामी पाँच वर्ष्भित्र प्रत्येक समूदायका सवै बालबालिकाहरू विभेदरहित किसिमले समग्र पहिचान सहित कर्णेल उजिर सिंहले विजय प्राप्त गरेको जितगढि किल्ला, आदिमानव रामापिथेकसको क्षेत्र र बुद्ध सभ्याताको उद्गम स्थल रहेको बुद्धावलीको बुटवल नगरीको विद्यालयभित्र पुग्ने छन्, संख्यात्मक हिसावले मात्र नभई गुणस्तरीय शिक्षा प्रदान गर्न आवश्यक सवै भौतिक पूर्वाधार तथा व्यवस्थाको यथार्थ पहिचान गर्नु पर्ने योजनाको लक्ष रहेको छ ।

योजनाको विशिष्ट उद्देश्य

नगरको वर्तमान शैक्षिक अवस्था (साक्षर, शिक्षित र निरक्षर) पत्ता लगाउने, शैक्षिक गुणस्तरलाई मापन योग्य बनाउने, विद्यालयलाई वाल, महिला र अपाङ्ग मैत्रीबनाउन पूर्वाधार तैयार गर्नेसमेत योजनाको लक्ष्य छ । यस्तै विद्यालयमा समावेशिकरणलाई उच्च प्राथमिकता दिंदै शैक्षिक तथ्यांकलाई भरपर्दो र विश्वासिलो बनाउने, समुदायमैत्रि शिक्षण संस्थाको विकास गर्ने तथा व्यवासायिक सीपयुक्त तथा प्राविधिक शिक्षाको व्यवस्था गर्ने योजनाले लक्ष्य लिएको छ । यस्तै विद्यालय छाड्ने दरमा कमि ल्याउँदै पूर्णतया रोक्ने, विद्यार्थीको उत्तीर्ण दरमा वृद्धि गर्ने, परीक्षा प्रणालीलाई व्यवस्थित गर्ने तथा शिक्षक व्यवस्थापनमा सुधार गर्दै विद्यालय व्यवस्थापन, सुशासन, पारदर्शिता र जवाफदेहिताको प्रत्याभूति दिने योजनाको लक्ष्य रहेको उपहानगरले जनाएको छ ।

कसरी बनाइयो योजना

स्थानीय तहले पाठ्यक्रम निर्माण गर्ने अधिकारलाई संविधानले नै व्यवस्था गरेको छ । सोही संवैधानिक अधिकार अनुरुप बुटवलले नगरसभाबाटै शिक्षा योजना बनाउने निर्णय गरेको थियो । स्थानीय पाठ्यक्रम तयार गर्नेदेखि शैक्षिक संगोष्ठि गर्ने स्थानीय तहमा बुटवल नै नमुना मानिएको छ । शिक्षा योजनाका लागि कार्यादेशसहितको कार्यदल गठन गर्दै फिल्डमा खटाइएको थियो । कार्यदलले प्रश्नावली तथा तथ्याङ्क संकलन फारम तैयार गरि सरोकारवाला सबै पक्षसंग छलफल र अन्तरक्रिया गरेको थियो ।

स्थानीय तह र सम्बन्धित स्थानमा वडा कार्यालय, अपाङ्गताको क्षेत्र, भिन्न प्रकृतिका विद्यालयहरू, सामुदायिक सिकाई केन्द्र, वालकल्याण गृह, धार्मिक विद्यालय, प्राविधिक विद्यालय तथा प्रतिष्ठान, जनप्रतिनिधिहरू, लक्षित वर्गहरुसँग लिखित तथा मौखिकसमेतका सुझाव संकलन गरिएको थियो । योजना निर्माणका लागि प्रदेश सरकारको वस्तुस्थिती र अन्य आधार पत्रहरूको समेत अध्ययन गरिएको, जिल्ला शिक्षा योजना तथा अन्य तथ्याङ्कहरूलाई आधार बनाउँदै २०६८ को जनसंख्याको वृद्धिदरको आधार मानी प्रक्षेपण गरिएको उपमहानगरले जनाएको छ ।