जनता टाइम्स

१४ फाल्गुन २०७६, बुधबार १०:०७

हिसात्मक प्रर्दशनमा १७ जनाको मृत्युपछि नयाँ दिल्लीमा कर्फ्यू


नयाँ दिल्ली, फागुन १४

भारतमा नागरिकता संशोधन कानून (सीएए)विरुद्ध हिंसक प्रदर्शन नरोकिएपछि चाँदबाग क्षेत्रमा मंगलवारदेखि कर्फ्यू लागू गरिएको छ। विद्रोहीले आगजनी र तोडफोड व्यापक बनाएपछि चाँदबाग, करावल नगर, मौजपुर र जाफराबादमा कर्फ्यू लगाइएको हो।

दिल्लीका कतिपय ठाउँमा मंगलवार साँझ आगजनी हुन थालेपछि केन्द्रीय गृहमन्त्री अमित शाहले प्रहरीलाई बल प्रयोग गर्न आदेश दिएका छन्। पहिला सम्झाउन र अटेरी गरे बल प्रयोग गर्न उनले आदेश दिएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार सो हिसात्मक प्रर्दशनमा अहिलेसम्म १७ जनाको मृत्यु भएको छ । जिटिवि अस्पतालका अनुसार हिसामा घाइते भएका मध्ये थप ४ जनाको आज मृत्यु भएसँगै मृतकको सख्या १७ पुगेको हो ।

नागरिकतासम्बन्धी कानुनको पक्ष र विपक्षमा उत्रिएका प्रदर्शनकारीहरूबीच दङ्गा भड्किँदा त्यहाँ दशकौँयताको सबभन्दा खराब हिंसा भएको छ । मृतकमध्ये एक प्रहरी पनि छन् । कैयौँ प्रहरीसहित डेढ सय मानिस घाइते भएका छन् । लाठी र ढुङ्गा बोकेका भिडले कुटपिट गर्दै हिँड्ने हिन्दूवादी समूहसँग सम्बन्धित नारा लगाएका छन् । हिंसाले साम्प्रदायिक स्वरूप ग्रहण गरिरहेको छ । हिन्दू र मुस्लिम भिडबीच झडप भएका छन् । पसल तथा घरहरू जलाइएका छन् । पत्रकारहरूमाथि पनि हमला भएका छन् । उनीहरूलाई दङ्गाको दृश्य भिडिओ नखिच्न चेतावनी दिइएका छन् । हिंसाले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको भारत भ्रमण समेत छायाँमा पारेको छ ।