जनता टाइम्स

१५ फाल्गुन २०७६, बिहीबार १०:१३

कोरोना भाइरस : ३२ हजारभन्दा बढी उपचारपछि घर फर्किए


काठमाडौं,  फागुन १५  चीनको वुहानबाट सुरु भएको (कोभिड १९) अर्थात् कोरोना भाइरस ४८ देशमा फैलिएको छ ।

अहिलेसम्म चीनमा मात्रै ३२ हजार पाँच सय सात जना र चीनबाहिर तीन सय १० जना कोरोना सङ्क्रमित उपचारपछि घर फर्किएका छन् ।

यद्यपि कोरोनाका कारण २८ सय चार जनाको ज्यान गएको र ८२ हजार एक सय ६६ जनामा सङ्क्रमण भएको पुष्टि भएको छ । अहिलेसम्म चीनमा दुई हजार सात सय ४७ जनाको ज्यान गएको छ । चीनपछि इरानमा सबैभन्दा धेरै १९, दक्षिण कोरियामा १३, इटालीमा १२, जापानमा सात, फ्रान्स र हङकङमा दुई–दुई तथा ताइवान र फिलिपिन्समा एक–एक जनाको ज्यान गएको छ । चीनमा गएको २४ घण्टामा थप ३२ जनाको ज्यान गएको छ भने चार सय ३५ जनामा सङ्क्रमण भएको पुष्टि भएको छ । यस्तै दक्षिण कोरियामा थप एक जनाको ज्यान गएको र तीन सय ३४ जनामा सङ्क्रमण देखिएको छ ।