जनता टाइम्स

१५ फाल्गुन २०७६, बिहीबार ११:०३

भारतद्वारा जापानको डायमण्ड प्रिन्सेस जहाजमा रहेका एक नेपालीको उद्धार


काठमाण्डौ, फागुन १५

भारतले जापानको राजधानी टोकियोबाट कोरोना भाइरस संक्रमित पानी जहाज (डायमन्ड प्रिन्सेस क्रुज)मा रहेका एक नेपालीको उद्धार गरिदिएको छ । आफ्ना ११९ जना नागरिकसहित एक नेपालीको पनि उद्धार गरेको हो ।

एअर इण्डियाको विशेष विमानबाट सबै नागरिक बिहीबार बिहान नयाँ दिल्ली आइपुगेका हुन् । जापानबाट भारतीय नागरिकसहित नेपाल, श्रीलङ्का, दक्षिण अफ्रिका र पेरुका नागरिकलाई पनि ल्याइएको भारतीय विदेश मन्त्री एस जयशङ्करले जानकारी दिनुभएको छ ।

उहाले ट्वीटमा लेख्नु भएको छ, ‘एअर इण्डियाको जहाज भर्खरै टोक्योबाट दिल्ली आइपुगेको छ । कोरोना भाइरसका कारण जापनको क्रुज शिपमा फसेका एक सय १९ भारतीय र श्रीलङ्का, नेपाल, दक्षिण अफ्रिका र पेरुका नागरिकलाई ल्याइएको छ । एअर इण्डियालाई फेरि एक पटक धन्यवाद दिन चाहन्छु ।’

उद्धार गरेर ल्याइएका सबैलाई थर्मल स्क्रिनिङपछि दिल्लीको छावलामा आईटीबीपी संगरोध सुविधा लगिएको छ । दिल्लीस्थित नेपाली दूतावासले एक जना नेपाली नागरिकको उद्धार गरिएको पुष्टि गरेको छ। दूतावासका प्रवक्ता हरि ओडारीले भारतको विदेश मन्त्रालयले टोकियोबाट उद्धार गरिएकामध्ये एक जना नेपाली नागरिक भएको जानकारी गराएको बताउनु भयो ।

‘हामीलाई एक जना नेपाली नागरिक रहेको जानकारी आएको छ,’ प्रवक्ता ओडारीले भन्नुभयो । उद्धार गरिएका ती नेपालीको परिचय भने खुलेको छैन । उनलाई दिल्ली छेउको हरियाणाको मानेसरस्थित सैनिक क्याम्पमा १४ दिनको क्वारेन्टाइनमा राखिने बताइएको छ ।