जनता टाइम्स

१५ फाल्गुन २०७६, बिहीबार १२:२७

११ बर्षीया बालिकाको सामुहिक बलात्कार गरी भिडियो र फोटो खिचेपछि…


जनकपुर, फागुन १५ । धनुषामा ११ वर्षीया बालिकाको सामूहिक बलात्कार गरी भिडियोसमेत खिचिएको घटना बाहिर आएको छ । लक्ष्मीनियाँ गाउँपालिका ५ गजरिया निवासी ११ वर्षीया बालिकालाई दुई युवकले बलात्कार गर्दै फोटो र भिडियो खिचेको घटना सार्वजनिक भएको हो ।

प्रहरीका अनुसार फागुन १० गते घरछेउको खेतमा घाँस काटिरहेकी ती बालिकालाई स्थानीय ३२ वर्षीय श्रीकिसुन दास र २२ वर्षीय अनिल ठाकुरले बलात्कार गरी भिडियो र फोटो खिचेको पीडित परिवारले जनाएको छ । पीडितका अनुसार बलात्कार गरेर फोटो र भिडियो खिची कसैलाई भने सामाजिक सञ्जालमा भाइरल बनाइदिने चेतावनी ती युवकले दिएका थिए । पीडित परिवारले प्रहरीमा उजुरी दिएपछि घटना बाहिर आएको हो ।

उजुरीपछि प्रहरीले बलात्कारमा संलग्न ३२ वर्षका श्रीकिसुनलाई पक्राउ गरेको छ । अर्का आरोपित २२ वर्षीय अनिल ठाकुर भने फरार रहेको प्रहरीको भनाई छ । धनुषा जिल्ला प्रहरी कार्यालयले अभियुक्त ठाकुरको व्यापक खोजी तथा घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।