जनता टाइम्स

१६ फाल्गुन २०७६, शुक्रबार १०:४३

५० देशमा फैलियो कोरोना, सबै देशलाई सचेत रहन विश्व स्वास्थ्य संगठनको आव्हान


काठमाण्डौ, फागुन १६

कोभिड–१९ अर्थात् कोरोना भाइरसको सङ्क्रमण ५० देशमा फैलिएको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले जनाएको छ ।

विभिन्न देशमा कोरोना भाइरस पुष्टि भएका ३६ हजार ६ सय ३३ जना उपचारपछि घर फर्किएका छन् । चीनमा मात्रै ३६ हजार एक सय ३६ जना उपचारपछि घर फर्किएका छन् भने अहिलेसम्म दुई हजार ८ सय ३२ जनाको ज्यान गएको छ । यस्तै ७९ हजार एक सय ६७ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

चीनपछि इरानमा सबैभन्दा धेरै २६ जनाको ज्यान गएको छ । कोरोना भाइरस फैलिएपछि जापान र इराकले सबै स्कुल बन्द गर्न निर्देशन दिएका छन् । साउदी अरबले विदेशी तीर्थयात्रीलाई प्रवेशमा रोक लगाएको छ भने इरानले आफ्ना नागरिकलाई अनावश्यक घुमफिर नगर्न अपिल गरेको छ ।

यस्तै अस्ट्रेलियाले कोरोना भाइरसको उद्गम स्थल चीनबाट पुग्ने पर्यटकलाई आवागमनमा लगाएको प्रतिबन्ध अनिश्चितकालका लागि लम्ब्याएको छ । इटालीमा पनि १७ जनाको ज्यान गएको छ र ११ शहरका नागरिकलाई क्वारेन्टाइनमा राखेको छ भने ग्रीसले रोमन क्याथलिक धर्म मान्नेहरुको उत्सव कारनिभलमा गरिने गतिविधि स्थगित गरेको बीबीसीले जनाएको छ ।

यसैबीच उप सहरा अफ्रिकी देशमा पनि कोरोनाको पहिलो सङ्क्रमित भेटिएको छ । नाइजेरियामा कोरोना सङ्क्रमित भेटिएको समाचार संस्था एएफपीले पुष्टि गरेको छ ।

डब्लुएचओले सबै सदस्य राष्ट्रहरुलाई तयारीका लागि चेतावनी दिएको छ । ‘प्रत्येक देश पहिलो केसका लागि तयार हुनैपर्छ,’ बिहीबार जेनेभामा आयोजित नियमित पत्रकार सम्मेलनमा डब्लूएचओका महानिर्देशक ट्रेडस एड्हानोम गेहब्रेयससले भने, ‘कुनै पनि मुलुकले कोभिड–१९ भित्रिन्न भनेर बस्न हुँदैन, त्यस्तो गरे गम्भीर गल्ती हुनेछ। कोभिड–१९ ले बोर्डरको मतलब राख्दैन।’ साथै महानिर्देशक गेहब्रेयससले कोरोना भाइरसले जात र जातीयतको पनि फरक नछुट्याउने र मुलुकको जीडीपी र विकासको स्तर पनि नहेर्ने भएकाले सबै मुलुकले निकै सतर्कता अपनाउनुपर्ने बताए।

चीनमा तुलनात्मक रुपमा कोभिड–१९ संक्रमण घट्दै गए पनि युरोप र मध्यपूर्वमा यसको असर देखिन थालेपछि चिन्ताको विषय बनेको उनले बताए। बिहीबार ब्राजिल, जर्जिया, ग्रीस, नर्थ म्यासेडोनिया, नर्वे, पाकिस्तान र रोमानियामा कोभिड–१९ को संक्रमण पहिलो पटक देखिएको छ।