जनता टाइम्स

२ जेष्ठ २०७६, बिहीबार १६:१९

बाजुरामा साक्षरता अभियान प्रभावकारी बन्दै


बाजुरा, जेठ २

जिल्ला शिक्षा विकास समन्वय एकाइले साक्षरता अभियान प्राथमिकताका साथ सञ्चालन गरिरहेको छ । बाजुराका नौ वटै स्थानीय तहसँगको सहकार्यमा अभियान प्रत्येक वडा र टोल बस्तीमा कार्यक्रम सञ्चालन भइरहेका छन् । आगामी असारभित्र साक्षर जिल्ला घोषणा गर्ने लक्ष्यसहित अभियानका गतिविधिलाई तीव्रता दिएको शिक्षा समन्वय अधिकारी गोपालदत्त जोशीले जानकारी दिनुभएको छ । जिल्ला समन्वय समिति प्रमुखको संयोजकत्वमा साक्षरता अभियान जिल्ला समन्वय समिति गठन गरिएको छ ।

साक्षरता समन्वय समितिले स्थानीय तहसँगको सहकार्यलाई अघि बढाएको छ । निरक्षरको तथ्याङ्क सङ्कलनदेखि निरक्षर जनसङ्ख्यालाई साक्षर बनाउने गतिविधि सञ्चालन भइरहेको जिल्ला समन्वय समिति प्रमुख एवं साक्षरता अभियान समन्वय समिति संयोजक नरेन्द्रकुमार रोकायाले जानकारी दिनुभयो । अभियानलाई तीव्र पार्न समितिले स्थानीय तहसँगको छलफल तथा भेटघाटलाई तीव्र बनाएको छ ।

बुधबार बुढीगङ्गा नगरपालिका र त्रिवेणी नगरपालिकाका जनप्रतिनिधि र शिक्षासँग सरोकार राख्ने निकायसँग छलफल गरेको छ । साक्षरता अभियानका चुनौती र अभियान सफल पार्न भइरहेका प्रयासबारे छलफल गरिएको हो । स्थानीय तहका प्रमुख संयोजक रहेको स्थानीय तह समन्वय समितिसमेत गठन गरिएको छ । समितिले आफ्ना काम कारवाही अघि बढाइरहेको त्रिवेणी नगरपालिका प्रमुख रामसिंह रावलले बताउनुभयो ।

साक्षरता जिल्ला घोषणाका लागि १२ सूचक तयार पारिएको छ । भाषा बोल्न सक्ने, परिचय दिन सक्ने, अङ्क चिन्न सक्ने, मोबाइल चलाउन सक्ने, नाम लेख्न सक्ने जस्ता १२ सूचकमध्ये कुनै सिकेको वा थाहा पाएको भए साक्षर मान्न सकिने सरकारले मापदण्ड बनाएको छ । साक्षर वर्ष २०७६ का रुपमा घोषणा गरिएकोले सफल पार्नु सबैको दायित्व हुने प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले बताउनुभएको छ ।

अभियानअन्तर्गत हिमाली गाउँपालिका र खप्तड छेडेदह गाउँपालिकामा गतिविधि तीव्र भइरहेका छन् । हिमाली गाउँपालिका ४३ स्वयंसेवक नै राखेर साक्षर कक्षा सञ्चालन भइरहेको र औठा छाप गर्नेलाई सुविधा रोक्ने निर्णय नै गरिसकेको गाउँपालिका अध्यक्ष गोविन्द्र मल्लले बताउनुभयो । बुढीनन्दा नगरपालिकामा निरक्षरको तथ्याङ्क सङ्कलन कार्य पूरा भई अन्य गतिविधि बढेर जेठभित्रै घोषणा गर्ने गरी काम थालिएको नगर उपप्रमुख सृष्टी रेग्मीले बताउनुभयो ।

जिल्लाको पहिलो साक्षर वडा घोषणा

जिल्लाको खप्तड छेडेदह गाउँपालिका–४ जिल्लाको पहिलो साक्षर वडाका रुपमा घोषणा गरिएको छ । जेठ २० गतेभित्र गाउँपालिकालाई नै घोषणा गर्ने लक्ष्यका साथ अभियान सञ्चालन गरिरहेको खप्तड छेडेदह गाउँपालिकाले ४ नम्बर वडालाई साक्षर वडाका रुपमा घोषणा गरेको हो ।

गाउँपालिका उपाध्यक्ष कुन्ती साउद बुढाले बुधबार औपचारिक कार्यक्रमका बीच साक्षर वडाका रुपमा घोषणा गर्नुभयो । साक्षर वडा हुनका लागि आवश्यक १२ सूचकमध्ये अधिकांश सूचक वडाले पूरा गरेपछि घोषणा गरिएको वडाध्यक्ष हर्कबहादुर रावतले बताउनुभयो ।