जनता टाइम्स

१७ फाल्गुन २०७६, शनिबार ०७:३८

नेपाल कोरोनाको उच्च जोखिममा – विश्व स्वास्थ्य संगठन (कार्यविधिमै अल्झिँदै नेपाल)


काठमाडौं, फागुन १७ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपासहित पाँच देश कोरोनाको उच्च जोखिममा रहेको चेतावनी दिएको छ ।

जेनेभास्थित मुख्यालयमा बिहीबार पत्रकार सम्मेलन गर्दै डुब्लूएचओ प्रमुख टेड्रस एडानमले नेपाल, भारत, पाकिस्तान, श्रीलंका र अफगानिस्तान कोरोनाको उच्च जोखिममा रहेको बताएका हुन् । कोरोनाले विश्वव्यापी महामारीको रूप लिँदै गएकाले ढुक्क नबस्न उनले सबै मुलुकलाई अपिल गरेका छन् । ‘कुनै देशले कोरोना भित्रिँदैन भनेर बसे गम्भीर गल्ती हुन्छ,’ उनले भने, ‘सबै देशले मौसमलाई ध्यान दिँदै आइसोलेसन युनिट, औषधि र अन्य स्वास्थ्य उपकरणको उचित प्रबन्ध गर्नू ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा। दीपेन्द्ररमण सिंहले नेपालमा डब्लुएचओले कोरोनाको उच्च जोखिम औँल्याएको बताए । नेपालले अहिलेसम्म कोरोना नियन्त्रणका लागि कुनै अर्थपूर्ण तयारी गर्न सकेको छैन ।

डब्लुएचओका अनुसार पछिल्लो २४ घन्टामा सात देशले रिपोर्ट पेस गरेकोमा चीनमा भन्दा द्रुत संक्रमण देखिएको छ । ब्राजिल, जर्जिया, ग्रिस, उत्तर म्यासेडोनिया, नर्वे, पाकिस्तान र रोमानियाले पहिलोपटक केस रिपोर्ट गरेका हुन् । बेल्जियम, कम्बोडिया, भारत, नेपाल, फिलिपिन्स, श्रीलंका र भियतनामले दुई सातादेखि केस रिपोर्ट नगरेको टेडरोसले बताए । कोरोना देखिँदैन भनेर बसे घातक हुन सक्ने उनको चेतावनी छ ।

चीनको वुहानमा ८ डिसेम्बरमा पुष्टि भएको कोरोना विश्वका ५० मुलुकमा फैलिसकेको छ । कोभिड–१९ बाट ८३ हजारभन्दा बढी संक्रमित छन् भने २८ सय ५९ को ज्यान नै गएको छ । हाल इरान, इटाली, दक्षिण कोरियामा संक्रमण द्रुत गतिमा फैलिएको छ । डब्लुएचओले कोरोना भाइरसका कारण एक महिनाअघि नै विश्व स्वास्थ्य संकटकाल घोषणा गरिसकेको छ ।

कार्यविधिमै अल्झिँदै नेपाल

विश्वभर कारोनाको संक्रमण फैलिँदा नेपाल भने कार्यविधि निर्माणमै अल्झिएको छ । कोरोना नियन्त्रणका लागि कार्यविधि बनाउन दिनहुँ छलफल भए पनि टुंगो लागेको छैन ।