जनता टाइम्स

२१ फाल्गुन २०७६, बुधबार ०९:०५

नेपाल घुमेर फर्किएका एक स्पेनिसको कोरोनाका कारण मृत्यु


काठमाडौं, फागुन २१

नेपाल भ्रमण गरेर फर्किएका एक स्पेनिस नागरिकको कोरोनाभाइरसको कारण मृत्यु भएको खुलेको छ । भ्यालेन्सियामा बसोबास गर्ने उनको फरवरी १३ तारिखमै मृत्यु भएको थियो ।

डेली मेलका अनुसार भालेन्सिया अस्पतालका स्वास्थ्यकर्मीले मृत्यु भएका ती व्यक्तिको मृत्युको कारण कोरोनाभाइरस रहेको पुष्टि गरेका छन् । मृत्यु हुनुपूर्व सो व्यक्ति नेपाल भ्रमण गरेर फर्किएको भन्ने उल्लेख छ ।

सुरुमा निमोनियाबाट ग्रसित ती व्यक्तिलाई अस्पताल भर्ना गरिएको भएपनि उनको मृत्युको कारण खुलाइएको थिएन । पछि अनुसन्धानबाट मृत्युको कारण कोरोनाभाइरस नै रहेको स्वास्थ्यकर्मीले पुष्टि गरेका हुन् । स्पेनमा कोरोनाका कारण मृत्यु भएको यो पहिलो घटना हो । अहिलेसम्म स्पेनमा कोरोनाभाइरसबाट संक्रमित हुने संख्या १ सय ६५ पुगेको छ ।