जनता टाइम्स

२१ फाल्गुन २०७६, बुधबार ०९:३७

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणमा ढिलाई, अब चार वटा मिर्गौला हुने


काठमाडौं, फागुन २१

प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौलाको प्रत्यारोपणमा केही ढिलाई भएको छ । विहान ९ बजेबाट शुरु गर्ने भनिएको प्रत्यारोपणमा केही समय ढिलाई भएको हो ।

अस्पतालका कार्यकारी निर्देशक डा. प्रेम खड्गाका अनुसार केही रिपोर्ट आउन बाँकी रहेकाले उहालाई अपरेसन थिएटरमा लगिएको छैन् । ‘प्रधानमन्त्रीको स्वास्थ परीक्षणको रिपोर्ट आउन बाँकी रहेको छ’, उहाले भन्नुभयो, ‘रिपोर्टमा सबै नर्मल देखिए तत्कालै प्रत्यारोपण शुरु गर्ने छौं ।’

रिपोर्टमा केही समस्या देखिएमा फेरी थिएटरबाट निकालेर टेष्ट गर्नुभन्दा पहिला नै सबै रिपोर्ट हेरर अप्रेसन थिएटरमा लैजाने बताउनु भयो । ‘केही रिपोर्टहरू आउन बाँकी छ । रिपोर्टमा केही समस्या देखियो भने फेरि अप्रेसन थिएटरबाट निकालेर टेष्ट गर्नुपर्ने भएकाले रिपोर्ट कुरेर बसेका छौं’, उहाले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीलाई भेट्न अस्पताल भित्र रहेका मन्त्रीहरूलाइ अप्रेसन थिएटरमा लैजानु अघि प्रधानमन्त्री लाई भेट्न दिइने डा खड्गाले बताउनु भयो । प्रधानमन्त्रीको सफल अपरेसनको कामना गर्दै मन्त्री तथा नेताहरु त्रिवि शिक्षण अस्पताल पुग्नेक्रम जारी छ । प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल, भूमि व्यवस्था तथा गरीबी निवारणमन्त्री पद्मा अर्याल नेकपा महासचिव विष्णु पौडेल, नेता आनन्द पोखरेल, मुख्य सचिव लोकदर्शन रेग्मीलगायत त्रिवि शिक्षण अस्पतालमै हुनुहुन्छ ।

यसैबीच, प्रधानमन्त्री ओलीको शरिरमा अब चार वटा मिर्गौला हुने भएको छ । अहिले ओलीको शरीरमा प्रत्यारोपित एउटा मिर्गौलासहित तीनवटा मिर्गौला रहेका छन् । प्रत्यारोपणको नेतृत्व गरिरहनु भएका डा. प्रेमराज ज्ञवालीका अनुसार यो प्रत्यारोपणपछि चारवटा हुनेछन् ।

‘फेर्ने भनेको उहाँको झिकेर नयाँ लगाउने होइन नि। नयाँ मात्रै लगाउने हो’, ज्ञवालीले भन्नुभयो । ‘उहाँका आफ्नै दुइटा भए, एउटा १२ वर्ष अगाडि लगाएको भयो। अब अहिले लगाउने चौथो हो’, डा. ज्ञवालीले जानकारी दिनुभयो ।