जनता टाइम्स

२२ फाल्गुन २०७६, बिहीबार ०९:५७

चीनपछि इटाली र अमेरिकामा कोरोनाको महामारी


काठमाडौं, फागुन २२

चीनपछि कोरोना भाइरस (कोभिड–१९) इटाली र अमेरिकामा महामारी लिन थालेको छ । इटालीमा मृतकको सख्या १०७ पुगेको छ भने अमेरिकामा ११ पुगेको छ ।

इटालीमा बुधबार मात्रै थप २८ जनाको मृत्यु भएको छ । इटालीमा संक्रमितको संख्या ३ हजार ८९ पुगेको छ । बुधबार मात्रै इटालीमा थप ५ सय ८७ जनामा संक्रमण देखिएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । चीनपछि सबैभन्दा बढी मृत्यु इटालीमा भएको छ ।

उता, अमेरिकाको क्यालिफोर्नियामा पहिलो व्यक्तिको ज्यान गएपछि राज्यले आपत्काल घोषणा गरेको छ । क्यालिफोर्नियाको राजधानी साक्रामेन्ट नजिकको अस्पतालमा ७१ वर्षीय पुरुषको ज्यान गएपछि अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ पुगेको छ ।

ज्यान गुमाउने व्यक्ति जापानको समुद्री तटमा रहेको डायमण्ड प्रिन्सेस क्रुज शिपमा रहेको बताइएको छ । जहाजमा यात्रा गरिरहेका केही व्यक्तिमा कोरोनाको सङ्क्रमण पाइएपछि जहाजलाई नै क्वारेन्टाइनमा राखिएको थियो । अमेरिकी राष्ट्रपति निवास तथा मुख्य कार्यालय ह्वाइट हाउसले कोरोनाको सङ्क्रमण बढ्दै गएपछि बुधबार देशव्यापी रुपमा नै परीक्षणलाई तीव्रता दिने बताएको छ ।

अमेरिकाको १६ राज्यमा कम्तीमा एक सय ५० जनामा कोरोनाको सङ्क्रमण देखिएको अधिकारीहरुले जनाएका छन् । विश्वभरि ९० हजारभन्दा बढीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । अहिलेसम्म ८४ देशमा फैलिसकेको कोरोनाका कारण तीन हजार दुई सयभन्दा बढीको ज्यान गइसकेको छ ।

चीनमा सङ्क्रमित र ज्यान गुमाउनेको सङ्ख्या घट्दै गए पनि चीनबाहिर भने यसको सङ्क्रमण र ज्यान गुमाउनेको सङ्ख्या बढिरहेको छ ।