जनता टाइम्स

२३ फाल्गुन २०७६, शुक्रबार ०८:०४

कोभिड–नाइन्टिनको सङ्क्रमणबाट बेलायतमा पहिलो व्यक्तिको ज्यान गयो


काठमाडौं, फागुन २३ । कोभिड–नाइन्टिनको सङ्क्रमणबाट बेलायतमा पहिलो व्यक्तिको ज्यान गएको छ ।

कोरोना भाइरसको सङ्क्रमण देखिएपछि उपचार गराइरहेकी एक ७० वर्षीया महिलाको ज्यान गएको बेलायतका स्वास्थ्य अधिकारीहरुले पुष्टि गरेका छन् ।

गएको बुधबार कोरोनाको सङ्क्रमण पाइएपछि ती महिला अस्पताल भर्ना भएकी थिइन् । बेलायतमा कोरोना सङ्क्रमितको सङ्ख्या एक सय १६ पुगेको छ । पछिल्लो २४ घण्टामा ३० जनाभन्दा बढीमा सङ्क्रमण देखिएको हो । यसैबीच बेलायती प्रधानमन्त्री बोरिस जोनसोनका आधिकारिक प्रवक्ताले भने, ‘भाइरस तीव्र रुपमा फैलिरहेको सम्भावना छ ।’

रोयल बर्कशायर अस्पतालमा उपचार गराइरहेकी ती महिला बेलायतमै हुँदा सङ्क्रमित भएको बेलायतका प्रमुख चिकित्सा सल्लाहकार प्राध्यापक क्रिक व्हिट्टीले बताए ।

ती महिला हालसालै बाहिर देश नगएको बीबीसीका स्वास्थ्य संवाददाता निक ट्रिग्गलले थपे । बेलायती अधिकारीहरु अहिले ती महिलासँग सम्पर्कमा रहेको व्यक्तिहरुको खोजी गरिरहेका बीबीसीले जनाएको छ ।