जनता टाइम्स

२५ फाल्गुन २०७६, आईतवार १६:२१

बिदा मनाएर ११ दिनअघि सिंगापुर हुँदै अस्ट्रेलिया गएका नेपाली विद्यार्थीमा कोरोना


काठमाडौं, फागुन २५

अस्ट्रेलिया रहेका एक नेपाली विद्यार्थीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । करिब दुई साताअघि नेपालबाट बिदा मनाएर फर्किएका एक विद्यार्थीमा कोरोना भाइरसबाट संक्रमित पाइएको छ । अस्ट्रेलियाको तास्मानियास्थित स्वास्थ्य अधिकारीहरुले करिब २० वर्षका विद्यार्थी संक्रमित भएको र उनको आइसोलेसनमा राखेर उपचार भइरहेको बताएका छन् ।

गत फेब्रुअरीमा नेपालबाट अस्ट्रेलिया गएका उनी सिंगापुरको ट्रान्जिट हुँदै सिड्नीबाट होर्बाट पुगेका थिए । तास्मानियाको जनस्वास्थ्य सेवाका प्रमुख डा. मार्क भेइचले नेपालबाट आएका ती युवालाई अन्य सबैबाट आफूलाई अलग राख्न (सेल्फ आइसोलेसन) आग्रह गरिएको भए पनि उनले त्यसलाई पालना नगरेको बताएका छन्। त्यहाँको स्वास्थ्य विभागले उनको परिचय भने सार्वजनिक गरको छैन ।

ताज्मेनियाको होर्वट ग्रान्ड चान्सलर होटलमा काम गर्दै आएका उनी गत फागुन १४ मा नेपालबाट सिंगापुर, सिड्नी ट्रान्जिट छिचोलेर आफू काम गर्दै आएको होबार्टमा पुगेका थिए। डा. भेइचलेका अनुसार तास्मानिया राज्यमा एक सय १४ जनामा कोरोना परीक्षण गरिएको छ। अहिलेसम्म अस्ट्रेलियामा ३८ जनालाई कोरोना संक्रमण देखिएको छ । कोरोनाका कारण अहिलेसम्म अस्ट्रेलियामा तीन जनाको मृत्यु भएको छ। कोरोना विश्‍वका १०३ देशमा पुगिसकेको छ भने ३५ सयले ज्यान गुमाएका छन्।