जनता टाइम्स

२९ फाल्गुन २०७६, बिहीबार ०८:१३

कारोना भाइरस विश्वव्यापी महामारी घोषणा : हल्का र लापरबाही रुपमा नलिन डब्लुएचओको चेतावनी


काठमाडौं, फागुन २९ । विश्वव्यापी रुपमा फैलिँदै गएको कोरोना (कोभिड १९) भाइरसलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वव्यापी महामारी घोषणा गरेको छ । डब्लुएचओले बुधवार पत्रकार सम्मेलन गरी यस्तो घोषणा गर्दै यो भाइरसलाई हल्का र लापरबाही रुपमा नलिन आग्रह गरेको हो ।

संगठनका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रायसेजले पत्रकार सम्मेलनमा भाइरसको बढ्दो प्रभावलाई लिएर विश्व चिन्तित भएको भन्दै यसको रोकथामको लागि सचेत हुन आग्रह गर्नुभयो । गेब्रायसेजले कोरोना भाइरस नियन्त्रणको लागि आक्रामक निर्णय लिन समेत सबै देशका सरकारलाई आग्रह समेत गर्नुभएको छ ।

अहिलेसम्म कोरोनाको संक्रमण विश्वभरका १०० भन्दा धेरै देशहरुमा फैलिइसकेको छ । त्यस्तै, चार हजारभन्दा धेरै मानिसको यो भाइरसका कारण नै ज्यान गइसकेको छ । विश्व स्वास्थ्य संगठनले यही आँकडालाई समेत आधार मान्दै विश्वव्यापी महामारीको घोषणा गरेको हो । पत्रकार सम्मेलनको क्रममा गेब्रायसेजले कोरोना नियन्त्रणको प्रयाससँगै आपतकालीन अवस्थाको लागि अस्पताल तयारी अवस्थामा राख्न समेत आग्रह गर्नुभयो । उहाँले प्रत्येक सरकारले आफ्ना नागरिकहरुलाई भाइरसबाट सचेत गराउँदै त्यसबाट बच्ने उपायहरुका बारेमा जानकारी दिनको लागि अनुरोध गर्नुभएको छ ।