जनता टाइम्स

२९ फाल्गुन २०७६, बिहीबार ०९:३५

युरोपबाट आउनेलाई अमेरिकामा प्रतिवन्ध


काठमाडौं, फागुन २९

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरस कोभिड–नाइन्टीनको सङ्क्रमण रोक्ने प्रयासस्वरूप युरोपेली देशबाट आफ्नो देशमा गरिने सबै हवाई उडानमा ३० दिनका निम्ति रोक लगाएका छन् ।

बुधबार विहान टेलिभिजन सम्बोधनमार्फत उनले घोषणा गरेको नियम ब्रिटेनको हकमा भने लागु हुने छैन । शुक्रबारबाट लागु हुने गरी गरिएको घोषणाबाट अमेरिकामा सो संक्रमण नियन्त्रणमा लिन सजिलो हुने उनको विश्वास छ । अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोना भाइरस विश्वभरको दुस्मन भएको भन्दै यसलाई चाँडो नियन्त्रण गर्नुपर्नेमा जोड दिएका छन् । नयाँ सङ्क्रमण रोक्नकै लागि युरोपसँगको यात्रामा प्रतिबन्ध लगाउनु परेको ट्रम्पले बताए ।

उता, इटलीमा कोरोनाभाइरसको प्रकोप नियन्त्रण गर्न किराना र औषधीबाहेक सबै पसलहरू बन्द गर्ने घोषणा गरिएको छ । युरोपको सबैभन्दा कडा प्रतिबन्धहरू घोषणा गरिएको उक्त देशमा सङ्क्रमितहरू र मृतकको सङ्ख्या निरन्तर बढ्दै गएपछि त्यस्तो निर्णय लिइएको हो । प्रधानमन्त्री जुजेप्पे कोन्टेले बार, रेन्टुरेन्ट, कपाल काट्ने पसल र अति आवश्यकीयबाहेकका सबै किनमेल केन्द्र बन्द हुने बताए । सामान घरमै पुर्‍याउन भने रोकिने छैन । टेलिभिजनमा सम्बोधन गर्दै प्रधानमन्त्री कोन्टेले त्यो प्रतिबन्ध बिहीवारदेखि २५ मार्चसम्म लागु हुने बताए ।

नयाँ सङ्क्रमणको दरलाई लिएर कडा तुल्याइएका प्रतिबन्धहरूको परिणाम केही सातामा देखिने उनको विश्वास छ । इटलीमा स्कुल, व्यायामशाला, सङ्ग्राहलय, रात्रिक्लब र अन्य सार्वजनिक स्थलहरू यसअघि नै बन्द गरिएका छन् । त्यहाँ १२ हजारभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ भने ८२७ जनाले ज्यान गुमाएका छन् ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का आपतकालीन प्रमुख मिसेल रियनका अनुसार इटलीमा करिब नौ सयजना सङ्क्रमितहरू सघन उपचार कक्षमा भर्ना गरिएका छन् । उनले इरान र इटलीले अहिले बेहोरिरहेको सङ्कटको जस्तो स्थितिको सामना छिट्टै अन्य देशहरूले पनि गर्नुपर्ने चेतावनी दिए ।