जनता टाइम्स

२९ फाल्गुन २०७६, बिहीबार १०:०७

कुवेत देश नै क्वारेन्टाइनमा ! १४ दिने सार्वजनिक विदा र सबै देशसँगको उडान रद्ध


काठमाडौं, फागुन २९

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई फैलिन नदिनको लागि कुवेत सरकारले बिहीबार (मार्च १२) देखि दुई सातासम्म लागू हुने गरी सार्वजनिक बिदाको घोषणा गरेको छ । यो सरकारी र निजी क्षेत्रमा कार्यरत कर्मचारी र कामदारका लागि लागू हुनेछ ।

नेपालीसहित आप्रवासी कामदारको उच्च जनघनत्व रहेको कुवेतले कोभिड(१९ को संक्रमण फैलिन सक्ने भन्दै सुरक्षाका सबै उपायहरु अपनाएको हो। १७ हजार ८ सय १८ वर्गकिलोमिटरको क्षेत्रफल रहेको कुवेतमा झन्डै ४२ लाख मानिस बस्छन्। कुल जनसंख्याको ७० प्रतिशत आप्रवासी कामदार रहेका छन्। नेपाली कामदार भने झन्डै ८५ हजार कार्यरत छन्।

अन्तर्राष्ट्रिय उडानहरु बन्द

कुवेतले शुक्रबार मध्यरातदेखि लागू हुने गरी सम्पूर्ण अन्तर्राष्ट्रिय उडानहरु बन्द गरिने भएको छ। कार्गोको उडान भने जारी रहनेछ। अन्तर्राष्ट्रिय उडान बन्दले कुवेतसँग हुने नेपाली कामदारको दुईतर्फी आवतजावत पनि बन्द भएको छ। अब वैदेशिक रोजगार विभागबाट कुवेत जानका लागि श्रम स्वीकृति पाइसकेका कामदार अर्को सूचना नआएसम्म कुवेत जान पाउने छैनन्।

कुवेतको मन्त्रिपरिषद्ले रेस्टुरेन्ट र क्याफेमा भेला हुन र ठूला व्यापारिक केन्द्र (मल)को वरिपरि भेला हुनको लागि रोक लगाएको छ। ठूला खाद्यान्य पाउने मल र साना पसल (वकला) हरु भने बन्द गरिएको छैन। बैंकहरु बन्द गरिएको छ। हरेक गभर्नर क्षेत्रमा भने एउटा मात्रै बैंक खोल्न पाइने छ। एटीएमहरु भने खुल्ला रहनेछ। सरकारले यसलाई कर्फ्यु रुपमा नबुझ्‍न सबैलाई अनुरोध गरेको छ।

कुवेतको यो निर्णय सार्वजनिक हुनासाथ बुधबार राति किनमेलका लागि व्यापारिक केन्द्रहरुमा निकै भीड लागेको थियो। कुवेतले सबै खालका नयाँ भिसा जारी गर्न पनि रोक्ने निर्णय गरेको छ। अब हालसम्म जारी भएका भिसा प्राप्त नेपाली मात्रै कुवेत जान पाउनेछन्। हालसम्म जारी भएका भिसाको श्रमस्वीकृतिको प्रक्रियामा नै छ। कुवेतमा बिहीबार बिहानसम्म ७२ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ। जसमध्ये २ जना निको भएर फर्केका छन्। ५ जनालाई आईसीयूमा राखिएको र १ जनाको अवस्था गम्भीर रहेको कुवेती अधिकारीले जानकारी दिएका छन्।