जनता टाइम्स

३० फाल्गुन २०७६, शुक्रबार ११:४०

छत्रदेव गाउँपालिकामा मास्क उत्पादन


अर्घाखाँची, फागुन ३०

जिल्लाको छत्रदेव गाउँपालिकाले मास्क उत्पादन शुरु भएको छ । बजारमा मास्क पाइन छाडेपछि पालिकाले उच्च सतर्कता अपनाउँदै स्थानीय टेलर्स व्यवसायीमार्फत उत्पादन शुरु गरेको पालिका अध्यक्ष लेखनाथ पोखरेलले बताउनुभयो । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण नेपालमा पनि फैलिने सम्भावना देखिएपछि सबै वडाका स्थानीयवासीलाई वितरण गर्न सकिने गरी ३० हजारभन्दा बढी मास्क उत्पादन गर्ने काम भइरहेको उहाँले बताउनुभयो ।

कोरोनाका त्रासका बीच मास्कको अभाव देखिएपछि पालिकाले आफैं उत्पादनमा ध्यान दिएको उहाँले बताउनुभयो । “छिमेकी राष्ट्र चीनसहित धेरै देशमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ । नेपालमा पनि यसको जोखिम छ, यसको फाइदा उठाउँदै कतिले कालोबजारी गरिरहेका छन्, हाम्रो पालिकाले आफैँ मास्क उत्पादन गरिरहेको छ ।”

पालिकाका सबै कर्मचारीलाई मास्क वितरण गरिसकिएको र सबै वडा कार्यालयमार्फत स्थानीयवासीलाई वितरण गर्न शुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले बताउनुभयो । कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यानमा राख्दै पालिकाले आफैँ मास्क उत्पादनमा जोड दिएको उहाँले बताउनुभयो । बजार भाउभन्दा सस्तो मास्क आफूहरुले उत्पादन गरेर वितरण गरिएको उहाँको भनाइ छ ।