जनता टाइम्स

३ जेष्ठ २०७६, शुक्रबार १४:४४

सांसदको नेतृत्वमा ढाटमा आगजनी, एक प्रहरी गम्भिर घाइते


चितवन ।

पूर्व पश्चिम राजमार्गअन्तर्गत टिकौलीमा रहेको सडक बोर्डको कर उठाउने ढाटमा सर्वसाधारणले आज आगो लगाएका छन् । आगो नियन्क्रणका त्रममा प्रहरी सहायक निरीक्षक गम्भीर घाइते हुनुभएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक दीपेन्द्र शाहका अनुसार बिहान ११ बजेको समयमा ३० ४० जनाको समूहले पेट्रोल छर्किएर ढाटमा आगो लगाएका हुन् । सो क्रममा आगो नियन्त्रणको प्रयास गर्दा त्यहीँ कार्यरत प्रहरी सहायक निरीक्षक कल्पना खड्का घाइते हुनुभएको हो । शाहका अनुसार खड्काको हात, खुट्टा, शरीर र टाउकामा आगोले पोलेको छ । घाइते खड्काको गम्भीर अवस्थामा चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । आगलागीबाट ढाटमा रकम सङ्कलन गर्न कर्मचारी बस्ने गरेको काउण्टर पूर्णरुपमा क्षति भएको शाहले बताउनुभयो ।

पूर्वी चितवनवासीले यसअघि नै सो ठाउँबाट ढाट हटाउन स्थानीय प्रशासनलाई ज्ञापनपत्र बुझाएका थिए । शाहले चितवन क्षेत्र नं १ (ख) का प्रदेशसभा सदस्य कृष्ण खनालको नेतृत्वमा आगो लगाइएको बताउनुभयो । तर खनालले भने आफू घटना हुँदा सो स्थलमा भए पनि आफ्नो नेतृत्वमा आगो लगाउने काम नभएको भन्दै आक्रोशित जनताले आगो लगाएको बताउनुभयो ।

प्रहरी प्रशासनले ठेकेदारसँग आर्थिक प्रलोभनमा परी त्यहाँ ढाट राख्न दिएको भन्दै अब तत्काल ढाट नहटाए स्थानीयवासीले सहेर नबस्ने खनालले बताउनुभयो । उहाँले ढाटलाई सीमा क्षेत्रमा लैजानुपर्ने बताउनुभयो । आफ्नै सदरमुकाम आउँदा–जाँदासमेत राजश्व तिर्नु परेपछि पूर्वी चितवनवासी मर्कामा परेको उहाँको भनाइ छ । ढाटमा आगो लगाएको आरोपमा प्रहरीले रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरीलाई पक्राउ गरेको छ ।