जनता टाइम्स

३० फाल्गुन २०७६, शुक्रबार ११:५७

सुर्खेतका ४० हजार बालबालिकामा दादुरा रुबेला रोगविरुद्धको खोप लगाइँदै


सुर्खेत, फागुन ३०

यहाँका ४० हजार बालबालिकालाई दादुरा रुबेला रोगविरुद्धको खोप लगाइने भएको छ । अगामी चैत १ गतेदेखि सञ्चालन हुने सो अभियानअन्तर्गत यहाँका नौ स्थानीय तहका ती सङ्ख्याका बालबालिकामा खोप लगाउन थालिएको हो । दादुरा र रुबेला रोगविरुद्धको खोप अभियानलाई प्रभावकारी बनाउन तीन चरणमा सञ्चालन गरिने जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य प्रमुख चेतननिधि वाग्लेले जानकारी दिनुभयो ।

“पहिलो चरणमा चैत १ गतेदेखि ६ गते वीरेन्द्रनगर नगरपालिका, दोस्रो चरणमा चैत ८ देखि १५ सम्म सिम्ता गाउँपालिका, गुर्भाकोट नगरपालिका, पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिकामा अभियान सञ्चालन हुनेछ”, उहाँले भन्नुभयो, “तेस्रो चरणमा चैत १५ देखि १९ सम्म चिङ्गाड गाउँपालिका, भेरीगङ्गा नगरपालिका, लेकवेंशी नगरपालिका र बराहताल गाउँपालिकामा खोप अभियान सम्पन्न गरिनेछ ।”

उहाँका अनुसार सुर्खेतमा ५८० खोप केन्द्रमा १७० जना तालीम प्राप्त भ्याक्सिनेटर (खोपकर्मी) र एक हजार १६० स्वयंसेवक परिचालन हुनेछन् । दादुरा र रुबेला नौ महीनादेखि पाँच वर्षमुनिका सबै बालबालिका र जन्मेदेखि पाँच वर्ष मुनिका बालबालिकालाई पोलियो खोप लगाइने कार्यालय प्रमुख वाग्ले बताउनुहुन्छ ।

बालबालिकाको शरीरमा सम्बन्धित रोगविरुद्ध लड्नसक्ने प्रतिरोधात्मक क्षमताको विकास गराउन खोप अनिवार्य रहेको जनाइएको छ । बाल तथा मातृ मृत्युदरमा कमी ल्याउने, औशत आयुमा वृिद्ध गर्ने र सन् २०२३ सम्ममा पोलियो रोग उन्मूलन एवं दादुरा रुबेला निवारण गर्ने अभियानले उद्देश्य राखेको उहाँले बताउनुभयो ।