जनता टाइम्स

३० फाल्गुन २०७६, शुक्रबार १२:२७

कोरोनाबाट जोगिन यस्तो छ प्रदेश १ सरकारको एक्शन


बिराटनगर, फागुन ३० । प्रदेश नम्बर १ सरकारले कोरोना भाइरस संक्रमणको आशंका गरिएका बिरामीको उपचारका लागि हजार क्षमताको क्वारेन्टाइन स्थल बनाउने कार्य सुरु गरेको छ । छिमेकी मुलुक चीन हुँदै दक्षिणी भारतमा पनि कोरोना संक्रमित भेटिएपछि सतर्कता अपनाउन महत्वपूर्ण मानिएको क्वारेन्टाइन निर्माणलाई प्रदेश १ सरकारले बिशेष प्राथमिकता दिएको हो ।

मुख्यमन्त्री शेरधन राईले दिनुभएको जानकारीअनुसार पहिलो चरणमा उदयपुरको श्रीलंका टापु र सैनिक ब्यारेक रहेको मोरङको टाँडी इलाकामा क्वारेन्टाइन स्थापना सुरु गरिएको छ । ‘कार्यदल गठन गरी प्रारम्भिक अध्ययन सुरु भएको छ, तत्काल कोरोना संक्रमित भेटिए उपचारका लागि राख्न सक्ने अवस्था सिर्जना गर्छौं,’ मुख्यमन्त्री राईले भन्नुभयो । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय, जिल्ला प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी, प्रदेश स्वास्थ्य निर्देशनालय र स्थानीय तहसहित सरोकारवालासँग ती दुई क्षेत्रमा क्वारेन्टाइन बनाउने विषयमा छलफलसमेत भएर काम अगाडि बढेको छ ।

मुख्यमन्त्री राईले कोरोनाको संक्रमणबाट प्रदेशका नागरिकलाई जोगाउन जुनसुकै बेला मन्त्रिपरिषद्को बैठक बसेर पर्याप्त बजेटका लागि निर्णय गर्ने र काममा कुनै कमी हुन नदिने बताउनु भयो । ‘कोरोनाको संक्रमण रोक्न हामीले २३ बुँदे निर्णय नै गरेका छौँ, सबै क्षेत्रलाई मिलाएर काम बाँडेका छौं, बजेट र जनशक्ति व्यवस्थापनमा कुनै कमजोरी हुन दिँदैनौँ,’ ’ मुख्यमन्त्री राईले भन्नुभयो । कोरोना भाइरसको संक्रमणबाट बच्ने प्रदेश १ सरकारले कार्ययोजना नै बनाएर बिहीबारको मन्त्रिपरिषद्बाट पारित गर्दै सबै काम तत्काल सुरु गर्ने जनाएको छ ।

प्रदेश सरकारका प्रवक्तासमेत रहनुभएका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीका अनुसार कोरोना संक्रमण देखिएमा उपचारका लागि आवश्यक तयारी अघि बढाइएको हो । ‘हामी प्रदेश १ नेपालकै अन्य प्रदेशको तुलनामा कोराना भाइरसको संक्रमणबाट बच्न र भेटिए उपचार गर्न निकै तयारीका साथ लागेका छौँ, १ हजार बिरामीलाई एकैपटक क्वारेन्टाइनमा राखेर उपचार गर्न सक्ने व्यवस्था मिलाउँदै छौं,’ कार्कीले भन्नुभयो । भारतसँग जोडिएका दुई ठूला नाका झापाको काँकडभिट्टा र विराटनगरको रानीसहित इलामको पशुपतिनगर, सुनसरीको भन्टाबारी नाकासँगै भारत र चीन जाने धेरै खुला नाका प्रदेश १ मा भएकाले समयमै सचेत भएर क्वारेन्टाइनको व्यवस्थापनमा लागेको उहाँको भनाई छ ।

क्वारेन्टाइन निर्माणका लागि नेपाली सेनालाई जिम्मा दिइएको छ । संक्रमितको गोपनीयता, नाकामा स्थापना भएका स्वास्थ्य परीक्षण डेस्कलाई अझै व्यवस्थित गर्दै लैजाने प्रदेश १ सरकारको मुख्य योजना छ । भारतमा संक्रमण बढ्दै गएकाले भारतले सीमा नाका बन्द गर्न सक्ने हुँदा खाद्यान्न र औषधिको पर्याप्त मौज्दातलाई पनि पहिलो प्राथमिकतामा राखेको प्रदेश सरकारले जनाएको छ ।