जनता टाइम्स

३ जेष्ठ २०७६, शुक्रबार १६:१३

प्रधानाध्यापकले नै स्थानीयको घरमा चोरी गरेपछि…


सिन्धुपाल्चोक, जेठ ३

भनिन्छ शिक्षक सदैव असल कुरा सिकाउने समाजका अगुवा हुन । तर सिन्धुपाल्चोककी एक प्रधानाध्यापकले सुन चोरीको अभियोगमा पक्राउ परेर सिंगो शिक्षकको प्रतिष्ठामाथि नै कालो दाग पोतिदिएकी छन । मेलम्ची नगरपालिका–११ खानीगाउँस्थित श्री भैरवीदेवी आधारभूत विद्यालयकी प्रधानाध्यापक कमला जोशीलाई स्थानीय माया घलेको घरमा पसेर सुन चोरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय मेलम्चीका अनुसार मादक पदार्थ सेवन गरी दुई तोलाभन्दा बढी सुन र तीन हजार चोरेको अभियुक्तले स्वीकार गरेकी छन । लामो समयदेखि सोही स्कूलमा पढाउँदै आएकी जोशीले दिउँसो तीन बजेतिर घलेको घरमा पसेर दराजमा भएको सुन चोरेको पीडित घलेले बताउनु भएको छ । सुन चोरेर भाग्ने क्रममा स्थानीयवासीको सहयोगमा बाटोबाटै उनलाई नियन्त्रणमा लिइएको हो ।

पीडित घलेका अनुसार आफ्नो औँठी लगाएको देखेपछि सुन चोरेको रहस्य खुलेको थियो । स्थानीयवासीको सहयोगमा उनलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाइएको थियो ।