काठमाडौं, चैत ४
युनिफिल (युनाइटेड नेशन इन्टरीम फोर्स इन लेबनान) ले ज्यान गुमाएका नेपाली सेनाका अमलदार नरबहादुर मगरलाई संयुक्त राष्ट्र संघ मेडल सहित अन्तिम बिदाइ गरेको छ । २७ फागुनमा सडक दुर्घटनामा परेर मृत्यु भएका उनलाई लेबनानी सेनाले समेत लेबनीज मेडल प्रदान गरेको छ।
लेबनानको राजधानी बेरुतस्थित राफिक हरीरी अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको संयुक्त राष्ट्र संघको इकाइ परिसरमा उनलाई युनिफिलका फोर्स कमाण्डर, लेबनानी सेना र मिशनमा खटिएको नेपाली सेनाको टोलीले बिदाइ गरेको हो ।
युनिफिल हेड अफ मिशन तथा फोर्स कमाण्डर मेजर जेनरल स्टेफानो डेल कोलले मृतक मगर र आश्रित परिवारमा समवेदना ब्यक्त गरे ।
उनले युनिफिलको शान्ति र निष्पक्षताको प्रयासका लागि मगरको त्याग स्मरणीय रहने बताए । यस्तै बिदाई समारोहमा उपस्थित लेबनान सेनाका कर्णेल फख्री सकिरले मगरलाई लेबनीज मेडल प्रदान गरेका थिए ।
दक्षिण लेबनानको मेस ए जेवेलस्थित नेपाली ब्याटको युएनपी ८–३४ पोस्टमा खटिएका मगरलाई शान्ति सेनाकै ट्रकले ठक्कर दिँदा मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। नेपाली सेनामा १६ वर्षअघि प्रवेश गरेका मगर ४ महिनाअघि मात्र लेबनान गएका थिए । धादिङ मूलपानीका उनी शिवदल गण अन्तर्गत खटिएका थिए।
नेपाली सेनाले २०३४ मा मिलिट्री अब्जर्भरका रुपमा प्रतिनिधीत्व गरेको युनिफिलमा २०६२ देखि नियमित शान्ति सेना पठाउदै आएको छ । मगर लेबनानमा ज्यान गुमाउने ३० औं नेपाली सैनिक हुन् । मगरका श्रीमती र एउटी छोरी छन।












प्रतिक्रिया दिनुहोस्