जनता टाइम्स

४ चैत्र २०७६, मंगलवार १४:१६

ट्रम्पले दिए कोरोना भाइरसलाई नयाँ नाम


काठमाडौं, चैत ४ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसलाई नयाँ नाम दिनुभएको छ । ट्रम्पले सोमवार ट्वीट गर्दै कोरोनालाई चिनियाँ भाइरस भन्दै नयाँ नामांकन गर्नुभएको हो । ट्रम्पले लेख्नुभएको छ, ‘चिनियाँ भाइरसबाट धेरै प्रभावित हवाइ उड्ययनलगायत उद्योगलाई अमेरिकाले बलियो सहयोग गर्नेछ। हामी पहिलाभन्दा झन् बलियो हुनेछौं ।’

ट्रम्पको यो ट्वीटबाट अमेरिकी नागरिक उनीमाथि कति आश्वस्त भए त थाहा छैन तर यसले चिनियाँलाई भने निकै आक्रोशित बनाएको छ । महिनौंदेखि व्यापार युद्धमा रहेका विश्वका दुई शक्ति राष्ट्र संयुक्त राज्य अमेरिका र चीनबीच पछिल्लो समय महामारीका रूपमा फैलिएको कोरोना भाइरसबारे पनि आरोप–प्रत्यारोपमा छन । चिनियाँ अधिकारीहरूले कोभिड–१९ नाम दिइएको रोग अमेरिकी सेनाले मिलिटरी गेम्सको क्रममा वुहान ल्याएको आरोप लगाएका छन ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्तासहितका अधिकारीहरूले अमेरिकी सैनिकले भाइरस ल्याएको भनेर छापिएका अनलाइन सामग्रीलाई ट्वीट गरेका थिए । चिनियाँ राज्य संयन्त्र नै त्यस्ता कन्सपिरेसी थ्यौरीको प्रचारमा लागेपछि अमेरिकीले वासिङ्टनस्थित चिनियाँ राजदूतलाई बोलाएर स्पष्टिकरण लिएको थियो । सोमबारमात्र अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले एक चिनियाँ उच्च कूटनीतिज्ञलाई टेलिफोन गरेर चिनियाँ पक्षबाट भइरहेको प्रचारबारे आपत्ति जनाएका थिए । चिनियाँ कम्युनिष्ट पार्टीका विदेश मामिला प्रमुख याङ जिएचीसँगको कुराकानीका क्रममा पोम्पेओले यो आरोप–प्रत्यारोपको बेला नभई सबै देश मिलेर महामारीविरूद्ध लड्ने समय हो भनेका थिए ।

तर यसअघि नै ट्रम्प प्रशासनका अधिकारीहरू र रिपब्लिकन सांसदहरूले कोरोना भाइरसलाई चिनियाँ भाइरस, वुहान भाइरस भनेका थिए । चिनियाँहरूले त्यसलाई रेसिस्ट प्रतिक्रिया भन्दै आपत्ति जनाएका थिए । दुई मुलुकबीच आरोप प्रत्यारोप चलिरहेकै बेला अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोनालाई चिनियाँ भाइरसको संज्ञा दिनुभएको हो ।