जनता टाइम्स

५ चैत्र २०७६, बुधबार १४:५७

१० लाख थान मास्कसहित सानोभर्‍याङबाट एक जना पक्राउ


काठमाडौं, चैत ५

काठमाडौंको सानोभर्याङबाट १० लाख थान मास्कसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले १० लाख थान मास्कसहित गोरखाका विनोद न्यौपानेलाई पक्राउ गरेको हो । महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार मूल्यभन्दा बढीमा बेच्न खोजेको सूचना आएपछि न्यौपानेलाई पक्राउ गरेर अनुसन्धान थालिएको हो । विश्वभर कोरोना भाइरसको संक्रमण समयमा कालोबजारी गरेर सर्वसाधारणलाई दुःख दिइएको गुनासो आएपछि निगरानी बढाउने क्रममा न्यौपाने पक्राउ परेका हुन् ।

यसअघि महाशाखाले मंगलबार मात्रै बढी मूल्यमा बेच्न खोजिएको १६ कार्टुन स्यानिटाइजर बरामद गरेको थियो । महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुले इन्द्रचोकको सुरज आर्केटमा छापा हानेर स्यानिटाइजरसहित रुपेश रौनियारलाई पक्राउ गरेको थियो । उनले ८० मा खरिद गरेको स्यानिटाइजर दुई सय ५० रुपैयाँमा विक्री गर्ने गरेको थिए । त्यस्तै महाशाखाले मंगलबारै महाराजगञ्जबाट १४ हजार मास्क पनि बरामद गरेको थियो । त्यसअघि काठमाडौं प्रहरी परिसर, टेकुले २ चैतमा १० लाख ८ हजार मास्क बरामद गरेको थियो ।