जनता टाइम्स

५ चैत्र २०७६, बुधबार १५:१६

विश्व स्वास्थ्य संगठन : कोरोना नेपाल सहित दक्षिणपूर्वि एसियामा सर्दै


काठमाडौं, ५ चैत

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमण दक्षिणपूर्वि एसियातर्फ लम्किरहेको चेतावनी दिएको छ । दक्षिणपूर्वि एसियाका निर्देशक पुनम क्षेत्रपाल सिंहले रोकथामका लागि तुरुन्तै एक्सन लिन आग्रह गर्नुभएको छ । उहाँले दक्षिणपूर्वि एसियाका केही देशमा संक्रमणको संख्या बढिरहेको र समुदायसम्म फैलिन थालिसकेकाले स्वास्थ्य सेवा प्रवाहमा ध्यान दिन जोड दिनुभयो ।

उहाँले भन्नुभयो हामीले तत्कालै रोकथामको लागि गरिने गतिविधिलाई बढाउनुपर्छ अहिले केन्द्रबिन्दु युरोपलाई बनाएको कोरोनाको संक्रमण दक्षिणपूर्वि एसियामा सर्ने जोखिम छ । विश्व स्वास्थ्य संगठनमा आवद्ध दक्षिणपूर्वि एसियाका ११ राष्ट्रमध्ये नौ वटा देशमा कोरोनाको संक्रमण देखिसकेको छ ।दक्षिण कोरियामा ८ हजार ४ सय १३ जनामा संक्रमण हुनुका साथै ८४ जनाको मृत्यु भएको छ ।

भारतमा १ सय ४८ जनामा संक्रमण र तीन जनाको मृत्यु भएको छ । इन्डोनेसिया १ सय ७२ जनामा संक्रमण हुनुका साथै ७ जनाको मृत्यु भएको छ । थाइल्याण्ड २ सय १२ जनामा संक्रमण देखिएको छ भने श्रीलंकामा ४५ र नेपालमा एक जनामा संक्रमणको पुष्टि भएको छ । माल्दिभ्समा १३ जनामा संक्रमण देखिएको छ । बंगलादेशमा ११,भुटानमा १ संक्रमण पुष्टि भएको छ । दक्षिणपूर्वि एसियामा म्यानमार र टिमोरमा हालसम्म संक्रमण देखिएको छैन ।