जनता टाइम्स

५ चैत्र २०७६, बुधबार १५:४८

यस्ता छन्, कोरोनाका शुभ समाचारहरु !


काठमाडौं, चैत ५

कोरोना महामारीका बारेमा अनेक समाचार बाहिर आएका बेला केही शुभ समाचार पनि आएका छन । बुधबार दिउँसोसम्ममा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण विश्वका १६७ देशमा फैलिएको छ । यो समाचार प्रकाशित हुनुअघिसम्म विश्वभरमा कोरोना भाइरसको संक्रमण १ लाख ९८ हजार ९ सय ३४ जनामा देखिएको छ । भाइरसका कारण ७ हजार ९ सय ९० जनाको मृत्यु भइसकेको छ। यस्तै ८२ हजार ७ सय ७९ जना उपचारपछि निको भएका छन्।

यस्ता छन् शुभसमाचार

१. चाइनाले उसको अन्तिम कोरोना अस्पताल पनि कोही उपचार गर्न नआएर बन्द गरिसक्यो।

२. भारतमा डाक्टरहरु कोरोनाको उपचार गर्न सफल भैसकेका छन् । बिरामीहरुमा निम्न औषधि चलाइएको थियो Opinavir, Retonovir, Oseltamivir along with Chlorphenamine. भारतीय डाक्टरहरुले संसारभरि सोही औषधि चलाउन सुझाब दिएका छन्।

३. एरासमस मेडिकल सेन्टरका अनुसन्धानकर्ताहरुले कोरोना भाइरस बिरुद्धको एन्टीबडी पत्ता लगाएको दाबी गरेका छन् ।

४. वुहान चाइनामा १०३ वर्षकी हजुरआमा कोभिड–१९ को ६ दिने उपचारपछि पूर्णरुपले निको भएर घर फर्किएकी छिन् ।

५. एप्पल कम्पनीले उसका बन्द भएका ४२ वटा पसल चाइनामा पुनः संचालनमा ल्याएको छ।

६. क्लेभिल्यांड क्लिनिकले कोभिड–१९ को परीक्षण रिजल्ट केही दिनको साटो केही घन्टामै आउने उपायको विकास गरेको छ।

७. दक्षिण कोरियामा नयाँ बिरामीको संख्या घटिरहेको छ।

८. कोरोनाको सबैभन्दा ठुलो मार इटलीलाई परेको छ । जसको मूख्य कारण इटलीको जनसंख्यामा ज्येष्ठ नागरिकको मात्रा युरोपभरिमै सबैभन्दा बढी हुनु ।

९. इजरायलका वैज्ञानिकहरु कोरोना भाइरस बिरुद्धको खोप बिकास भएको घोषणा गर्ने सम्भावनाको नजिक पुगेका छन्।

१०. अमेरिकाको मेरील्याण्डका तीनजना कोभिड–१९ का बिरामी पुरै निको भएर दैनिक जीवनमा फर्किसकेका छन्।

११. क्यानाडाका वैज्ञानिकहरुको संजालले कोभिड–१९ को अनुसन्धानमा उत्कृष्ट प्रगति गरिरहेको छ।

१२. सान डिएगोको एउटा बायोटेक कम्पनी सिंगापुरको ड्युक विश्वविद्यालय र नेसनल युनिभर्सिटी अफ सिंगापुरसँग मिलेर कोभिड–१९ को खोप विकासमा तीव्र ढंगले लागिरहेको छ ।

१३. टुल्सा गाउँको पहिलो कोभिड–१९ को बिरामी निको भएका छन् । पछिल्लो दुई परीक्षणमा दुवै पटक ‘नेगेटिभ’ देखिएको छ। कोभिड–१९ निको हुने रोग हो भनेर यसले देखाउॅछ।

१४. नयाँ दिल्लीको सफ्दरगन्ज अस्पतालमा उपचार गराइरहेका सातैजना बिरामी पुरै निको भएका छन्।

१५. कोभिड–१९ बाट भर्खरै निको भएका बिरामीको शरीरबाट प्लाज्मा झिकेर नयाँ संक्रमितहरुको उपचारमा प्रयोग गर्न सकिन्छ।

१६. अमेरिकाको सियाटलमा कोभिड–१९ को खोपको मानव सुरक्षा परीक्षण सुरु भएको छ।