जनता टाइम्स

६ चैत्र २०७६, बिहीबार १४:२५

पत्रकार महासंघका अध्यक्षसहित तीन पत्रकारलाई सात दिन कैद सजाय


रौतहट, चैत ६ । उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जले बैंकिङ कसुर मुद्दामा नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाका तत्कालीन अध्यक्षसहित सचिव र कोषाध्यक्षलाई सात दिन कैदको फैसला गरेको छ । गत माघ १३ गते भएको फैसला प्रति (कागज) बुधबार मात्र प्राप्त भएको हो ।

न्यायाधीशद्वय डिल्लीराज अचार्य र भीमकुमार ओझाको संयुक्त इजलासले बैंकिङ कसुर मुद्दाअन्तर्गत नेपाल पत्रकार महासङ्घका तत्कालीन अध्यक्ष रवीन्द्रप्रसाद साह, सचिव राजेन्द्रकुमार क्षेत्री र कोषाध्यक्ष रमेश तिमिल्सिनालाई चेक बाउन्स गरेको भनी दोषी ठहर गरेको थियो ।

बैंकिङ कसुर तथा सजाय निर्धारण ऐन २०६४ को दफा ३ (ग) बमोजिम कसुर अपराध गरेको हुँदा अध्यक्ष साह, सचिव क्षेत्री र कोषाध्यक्ष तिमिल्सिनालाई जनही रु ३३ हजार ३३३ का दरले चेक बाउन्स भएकामा भुक्तान गर्न आदेश दिइएको हो । सोही जिल्ला बौधीमाई नगरपालिका– ८ बस्ने उत्तमकुमार उपाध्यायका नाउँमा नेपाल पत्रकार महासङ्घको कार्यक्रम गरेबापत महासङ्घका ती पदाधिकारीले राष्ट्रिय वाणिज्य बैंक गौरको खाताबाट रु एक लाखको चेक दिए पनि भजाउन सकिएको थिएन ।