जनता टाइम्स

८ चैत्र २०७६, शनिबार १४:१४

नर्भिक अस्पतालले भन्यो : कोरोना संक्रमित छैनन, अफवाह फैलाउनेलाई कडा कारबाही गरियोस


काठमाडौं, चैत ८ । कोरोना भाइरस (कोभिड–१९) का बिरामी भेटिएको भनेर सामाजिक सञ्जालमा सेयर भइरहेका सन्देश अफवाह फैलाउने नियोजित षडयन्त्रका साथ आएको र सो अडियो भ्रमपूर्ण भएको नर्भिक अस्पतालले प्रष्ट पारेको छ । सामाजिक सञ्जालमा फैलाइएका सन्देश झुटो र असत्य रहेको भन्दै सो अस्पतालले खण्डन गरेको हो ।

अस्पतालले आज विज्ञप्ति नै जारी गरी कोभिड १९ को बिरामी आफ्नो अस्पतालमा भेटिएको भन्ने कुरा भ्रामक रहेको जनाएको छ । ‘यसखाले अपराधपूर्ण अफवाहको हामी कडा निन्दा गर्दछौं । हालसम्म नर्भिकमा कोभिड–१९ का कुनै पनि बिरामी पत्ता लागेका छैनन । यसमा हामी सबै निश्चिन्त र प्रष्ट हुनुपर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले अफवाह फैलाउनु अपराधपूर्ण भएको भन्दै कानुनी कारबाही गर्न माग गर्नुभयो । नर्भिकमा अहिलेसम्म कोरोना संक्रमित नभेटिएको र त्यसको जाँच गर्ने व्यवस्था पनि नरहेको पनि सो अस्पतालले जनाएको छ ।