जनता टाइम्स

९ चैत्र २०७६, आईतवार १६:२९

फिल्डमै गएर सेवा दिने गरी अव महिला मन्त्रालयमै कोरोना हेल्थ डेक्स


काठमाडौं, चैत ९ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले विश्वभर फैलिरहेको कारोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिमलाई न्यूनीकरण गर्नका लागि ‘कोरोना हेल्थ डेक्स’ स्थापना गर्ने तयारी अघि बढाएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले कोरोना संक्रमणको सम्भावित जोखिमलाई कम गर्नका लागि तत्कालै कोरोना हेल्थ डेक्स स्थापना गर्न लागेको बताउनुभयो । ‘बालबालिका, अपाङगता भएका व्यक्ति, बाल सुधार गृह, वृद्धआश्रममा बस्ने व्यक्तिलाई सेवा दिनका लागि कोरोना हेल्थ डेक्स स्थापना गर्न लागिएको हो,’ मन्त्री गुरुङले जनताटाइम्ससँग भन्नुभयो, ‘मन्त्रालयमा तुरुन्तै फोकल पर्सन तोकेर काम शुरु गर्ने तयारी छ, आवश्यक परेमा सम्बन्धित ठाउँमै गएर पनि सेवा दिन सकिन्छ ।’

महिला मन्त्रालयले कोरोनाको संक्रमण फैलिन नदिनका लागि उच्च जोखिममा रहेका महिला, बालबालिका, सुत्केरी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिलाई ध्यानमा राखेर सचेतनामूलक कार्यक्रम महिला तथा बालबालिका विभागबाट सञ्चालन गरिरहेको छ । मन्त्रालयले पूर्व सावधानीका लागि सरोकारवाला निकायसँगको सहकार्यमा माक्स, स्यानीटाइजार, औषधिजस्ता आधारभूत आवश्यक वस्तुको संकलन तथा वितरणको व्यवस्था मिलाउने काम विभागलाई दिएको छ ।