जनता टाइम्स

१० चैत्र २०७६, सोमबार १४:१८

कोरोना अपडेट : १४ हजार ७४६ को मृत्यु


काठमाडौं, चैत १०

महारामारीको रुपमा फैलिरहेको कोभिड–१९ का कारण हालसम्म १४ हजार ७ सय ४६ को मृत्यु भएको छ । विश्वभर १४ हजार ७ सय ४६ जनाको मृत्यु भएको कोरोना भाइरसको अपडेट गरिरहेको वल्डोमिटरर्स डट इन्फोले जनाएको छ । ३ लाख ४१ हजार पाँच सय २६ जनामा भाइरस संक्रमणको पुष्टि भइसकेको छ । ९९ हजार ४० जना उपचारपछि घर फर्किएका छन् । कोरोना भाइरस संक्रमण चीनबाट सन् २०१९ को डिसेम्बरमा सुरू भएपनि अहिले युरोप यसको केन्द्रविन्दु बनेको छ ।

सबैभन्दा धेरै मानिसको मृत्यु इटलीमा भएको छ । त्यहाँ कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ हजार ४ सय ७६ पुगेको छ । बुढ्यौली जनसंख्या बढी रहेको इटालीमा दैनिक मृत्युदर निकै कहालीलाग्दो अवस्थामा छ । हाल ५९ हजार १ सय ३८ जना सङक्रमित रहेको इटालीमा ७ हजार २४ जना उपचारपछि घर फर्किएका छन् । मध्यपूर्वका राष्ट्रहरुमध्ये इरानमा कोरोना भाइरसको संक्रमण सबैभन्दा डरलाग्दो अवस्थामा छ । त्यहाँ कोरोनाकै कारण १ हजार ६ सय ८५ व्यक्तिको मृत्यु भइसकेको छ भने २१ हजार ६ सय ३८ जना संक्रमित छन् ।

स्पेनमा थप ३ सय ७५ जनाको मृत्यु भएपछि कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७ सय ७२ पुगेको छ । संक्रमितको संख्या पनि बढेर २८ हजार ७ सय ६८ पुगेको छ । जर्मनीमा ९४ जनाको मृत्यु भएको छ भने २४ हजार ८ सय ७३ जना संक्रमित छन् । अमेरिकामा ४ सय १९ जनाको मृत्यु भएको छ भने ३३ हजार ५ सय ४६ संक्रमित छन् । फ्रान्समा ६ सय ७४ जनाको मृत्यु भएको छ । १६ हजार १८ संक्रमित छन् । दक्षिण कोरियामा कोरोनाका कारण १११ जनाको मृत्यु भएको छ भने ८ हजार ९ सय ६१ जना संक्रमित छन् ।