जनता टाइम्स

११ चैत्र २०७६, मंगलवार १८:३२

कोरोनाबारे अफवाह फैलाउने सात सञ्चारमाध्यम बन्द गराइयो, १७ ओटा मिडियालाई सोधियो स्पष्टिकरण


काठमाडौं, चैत ११ । कोरोना भाइरस (कोभिड–१९) बारे भ्रम र उत्तेजना फैलाउने सामग्री प्रकाशन प्रसारण गर्ने सात वटा सञ्चार माध्यमलाई प्रेस काउन्सिल नेपालले बन्द गराएको छ । काउन्सिलले नेपाल दूर सञ्चार प्राधिकरणलाइ पत्र लेखेर नेपालमा ती अनलाइन नेपालमा हेर्न नमिल्ने गरी बन्द गराएको हो ।

काउन्सिलका कार्यबहाक अध्यक्ष किशोर श्रेष्ठले सात वटा सञ्चारमाध्यम बन्द गराउनुकासाथै १७ वटा अनलाइन, टिभी र पत्रिकासङ्ग काउन्सिलले पत्रकार आचारसंहिताविपरितका ती सामग्री हटाउन लगाउनुका साथै २४ घण्टे स्पस्टिकरण सोधेको जानकारी दिनुभयो । जनस्वास्थ्यसम्बन्धी भ्रामक,उत्तेजक शीर्षक राखी अपुस्ट समाचार सम्प्रेषण गर्ने १७ वटा अनलाइन,टिभी र पत्रिकासङ्ग काउन्सिलले पत्रकार आचारसंहिताविपरितका ती सामग्री हटाउन लगाउनुका साथै २४ घण्टे स्पस्टिकरण सोधेको छ,दर्ता नभई सन्चालित अरु ७ वटा अनलाइनको प्रशारण नेपालभरि हेर्नै नमिल्ने बनाइएको छ, श्रेष्ठले भन्नुभयो ।

यसअघि प्रेस काउन्सिल बोर्ड र सचिवालयको संयुक्त बैठकले कोरोना भाइरसबाट अधिकांश देश आक्रान्त बनिरहेका अवस्थामा केही मिडिया र सामाजिक सञ्जाल प्रयोगकर्ताबाट हल्ला र अनुमानका आधारमा लापरवाहीपूर्वक तथ्यहीन सूचना सम्प्रेषण हुने गरेको पाइएकाले त्यसो नगर्न अनुरोध गरेको थियो । तर काउन्सिलको अनुरोध विपरितका काम जारी राखेपछि सात वाटा अनलाइन बन्द नै गरिएको हो ।

बन्द गरिएका सञ्चारमाध्यममा कास्की खबर, नेपालीअनलाइन न्युज, मिडियामाइनेपाल लगायतका रहेका छन । त्यस्तै न्युज २४ र रिपोटर्स नेपाल लगायत लगायतका मिडियाले राखेको गलत सामग्री हटाउन लगाएर २४ घण्टे स्पष्टिकरण सोधिएको छ । काउन्सिलले नेपाल पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) को ५ को दफा १४ को ‘पत्रकार तथा सञ्चारमाध्यमले व्यक्तिको स्वास्थ्य, महामारीलगायत जनस्वास्थ्यसँग सरोकार रहने विषयसम्बन्धी सामग्री पाठक, स्रोता वा दर्शकमा उत्तेजना वा निराशा उत्पन्न हुने गरी अतिरञ्जित तवरमा कोही, कसैका बारेमा पनि सम्प्रेषण गर्न नहुने बताएको छ ।