जनता टाइम्स

१३ चैत्र २०७६, बिहीबार १६:१६

लण्डनमा कोरोनाबाट अर्का एक नेपालीको मृत्यु


काठमाडौं, चैत १३

कोरोना (कोभिड–१९) भाइरसको संक्रमणबाट लण्डनमा फेरि अर्का एक नेपालीको मृत्यु भएको छ । गत सोमबार बिहान निधन भएका साउथ इस्ट लण्डनका ४० वर्षीय प्रशान्त अर्याललाई कोरोना संक्रमण भएको पुष्टी भएको हो ।

बुधबार अस्पतालले मृतकको परिवारलाई टेलिफोन गरेर उनलाई कोरोना संक्रमण पोजिटिभ देखिएकोे जानकारी गराएको छ । यसअघि गतसाता लण्डनकै ह्यारोका ६५ वर्षीय भूपू गोर्खा लिलाबहादुर राईको पनि कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

दुई दशक भन्दा लामो समयदेखि लण्डनमा बस्दै आएका अर्याललाई यसअघि ब्लड प्रेसरबाहेक अन्य गम्भीर स्वास्थ्य समस्या नरहेको पारिवारिक स्रोतले बताएको छ । केही दिनदेखि सामान्य ज्वरो र खोकीलगायतका लक्षण देखा परेका उनलाई गत शनिबार बिहान ४ बजे अकस्मात घरमै चक्कर लागेपछि अस्पताल लगिएको थियो ।

स्थानीय क्वीन एलिजावेथ अस्पतालमा उपचारकै क्रममा सोमबार बिहान २ बजे उनको निधन भएको थियो । चितव पुख्र्यौली घर भएका मृतक अर्याल श्रीमती, ११ वर्षकी छोरी र ९ वर्षका छोरासहित लण्डनमा बस्दै आएका थिए ।