जनता टाइम्स

१४ चैत्र २०७६, शुक्रबार २१:०२

बेलायतका प्रधानमन्त्री र स्वास्थ्यमन्त्री कोरोनाबाट संक्रमित


लन्डन, चैत १४

बेलायती प्रधानमन्त्री बोरिस जोनसन र स्वास्थ्यमन्त्री म्याट हानकक कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । प्रधानमन्त्री कार्यालय डाउनिङ स्ट्रिटले शुक्रबार यसबारे पुष्टि गर्दै जोनसनमा सामान्य लक्षण देखिएको बताएको छ ।

उनी ‘सेल्फ आइसोलेसन’ मा बस्ने र त्यहीबाट सरकार सञ्चालन गर्ने डाउनिङ स्ट्रिटका प्रवक्तालाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ । इंगल्यान्डका मुख्य चिकित्सा अधिकारी प्रा. क्रिस व्हिटीको व्यक्तिगत सल्लाहपछि उनको परीक्षण गरिएको थियो । ‘कोरोना संकटसँग जुध्न ब्रिटिस सरकारको प्रयासको उनले नै नेतृत्व गर्नेछन्’, वक्तव्यमा भनिएको छ ।

यसैबीच, बेलायतका स्वास्थ्यमन्त्री म्याट हानकक पनि कोरोना भाइरसबाट संक्रमति भएका छन् । बेलायती सञ्चारमाध्यमका अनुसार ४१ वर्षीय हानकक सेल्फ आइसोलेसनमा छन् । जोनसन र हानककले बेलायतमा कोभिड–१९ को महामारीविरुद्धको अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका थिए ।

बेलायतमा यसअघि युवराज चार्ल्स र उपस्वास्थ्यमन्त्री नदिन डोरिसलाई कोभिड–१९ को संक्रमण देखिइसकेको छ । युवराज चार्ल्स हाल पत्नीसहित स्कटल्यान्डस्थित निवासमा आइसोलेसनमा छन् ।