जनता टाइम्स

१५ चैत्र २०७६, शनिबार १०:३३

युएईमा थप दुई नेपाली कोरोना संक्रमित भेटिए


काठमाडौं, चैत १५

संयुक्त अरब इमिरेट्स (यूएई)मा दुई जना नेपालीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । यूएईको स्वास्थ्य मन्त्रालयले शुक्रबार ७२ जनामा थप संक्रमण देखिएको र त्यसमध्ये २ जना नेपाली रहेको पुष्टि गरेको छ ।

मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकमा २ नेपाली सहित ७२ जनामा कोरोनाको संक्रमणको पुष्टि भएको स्थानीय संचारमाध्यमले जनाएका छन् । मन्त्रालयका अनुसार ईमाराती सहित, श्रीलंका ,जोर्डन, प्यालेष्टाइन ,इरान ,कोमोरोस ,चीन ,साउदी अरब , काजकिस्तान , सर्बीया ,ग्रीस ,उरुग्ये ,रोमानिया स्विेडन ,दक्षिण अफ्रिका ,इराक ,यमन ,इथोपिया, बेलायत ,पाकिस्तान लेबनान भारत र बंगलादेशका नागरिक गरि ७२ जनामा संक्रमणको पुष्टि भएको छ ।

संक्रमण भेटिएका सबैजना यसअघि संक्रमितसंग सम्पर्कमा रहेका व्यक्तिहरु रहेको पाइएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अुनसार संक्रमित सबै बिरामी देशका विभिन्न अस्पतालमा उपचाररत रहेको र उनीहरुको अवस्था सामान्य रहेको छ । यूएईमा हालसम्म ४ सय ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यसैबीच यूएईमा तीन दिनका लागि लकडाउनको घोषणा गरिएको छ । यूएई सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सरसफाई तथा निर्मलीकरण अभियानका लागि लकडाउन गरेको जनाएको छ ।