जनता टाइम्स

१७ चैत्र २०७६, सोमबार १२:३७

सुडानमा नेपाली सेनाका प्रमुख सेनानी विष्टको निधन


काठमाडौं, चैत १७

संयुक्त राष्ट्र संघको सुडान मिसनमा खटिएका नेपाली सेनाका प्रमुख सेनानी (लेफटिनेन्ट कर्णेल) को मृत्यु भएको छ । प्रमुख सेनानी रिदेश विष्टको हृदयघातबाट सुडानस्थीत मिसन मुख्यालय जालिङ्गीमा मृत्यु भएको हो ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले प्रमुख सेनानी विष्टको शव नेपाल ल्याउने बिषयमा छलफल भइरहेको जनाएको छ । निर्देशनालयले निश्चित प्रक्रिया पुरा गरेर मात्र संयुक्त राष्ट्र संघले शव हस्तानान्तरण गर्ने भएकाले समय लाग्ने जनाएको छ । मिशन मुख्यालयले भने आइतबार नै संयुक्त राष्ट्र संघको सम्मान दिँदै विष्टलाई अन्तिम श्रदान्जली दिएको छ।

संयुक्त राष्ट्र संघले मिसनमा मृत्यु हुने आफ्ना अधिकारीको शव सम्बन्धित देशबाट खटिएको फौज (सेना, सशस्त्र र प्रहरी) लाई हस्तानान्तरण गर्छ। तर, विश्वका धेरै ठाउँमा कोभिड–१९ को महामारी फैलिएका कारण शव ल्याउने निर्णय भने भइसकेको छैन । उनको शव अहिले सुडानकै एक अस्पतालमा राखिएको छ ।

विष्ट मिसनमा ‘स्टाफ अफिसर’ का रूपमा खटिएका थिए । उनी नौ महिनाअघिबाट सुडान मिशन मुख्यालयमा तैनाथ थिए । सैनिक मुख्यालय जंगी अड्डाको शिकायत जाँच निर्देशनालयमा दरबन्दी भएका विष्ट सानेपाका स्थायी बासिन्दा हुन् । उनका श्रीमती, एक छोरी र छोरा छन्।