जनता टाइम्स

२४ चैत्र २०७६, सोमबार ११:४२

नेपाली समाचारको हेडलाइनप्रति अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थीको आपत्ति


सिड्नी, चैत २४

केही दिन अघि नेपाली संचारमाध्यमले अस्ट्रेलियाले नेपाली विद्यार्थीलाई घर फर्किन निर्देशन दिएको समाचार आयो । अस्ट्रेलियामा आफ्ना पढ्न पठाएका विद्यार्थीका अभिभावक चिन्तामा परे ।

लाखौं लगानी गरेर भविष्य राम्रो होस् भनेर पठाएका आफ्ना छोराछोरीलाई फर्कन भनेको समाचार आएपछि उनिहरु चिन्तित बने । आफ्ना छोराछोरीलाई लगातार फोन गरे । तर, यहा रहेका विद्यार्थी भने त्यस्तो खवरबाट बेखवर थिए । उनिहरु आफ्नै मोवाइलबाट अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्वोधन सुनेका थिए । उनिहरुले त्यस्ता समाचारलाई वेवास्था गर्न अभिभावकलाई सुझाए । प्रधानमन्त्रीले सम्बोधनमा के भनेका थिए ।

४ दिनअघि अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले नियमित पत्रकार सम्मेलनमा यदि अस्थायी भिसाबाहकले आफूलाई यो अवस्थामा धान्न सक्ने अवस्था छैन भने आफ्नै घर फर्कन सुझाव दिनुभयो । अन्तर्राष्ट्रिय विद्यार्थीबारे सोधिएको प्रश्नमा मरिसनले दिएको जवाफको व्याख्या भने अनेक कोणबाट भइरहेको छ । धेरैले यसलाई उनले नेपालीलगायत विदेशी विद्यार्थीलाई आफ्नै घर फर्किन भनेको रुपमा व्याख्या गरे । कतिसम्म ठानियो भने कोरोना लकडाउनकै बीच अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थी देश फर्किनुपर्ने भयो भनेर बुझे । जब कि उनको भनाइको अर्थ त्यो होइन ।

वास्तवमा प्रधानमन्त्रीको भनाइको सार अहिलेको अवस्थामा हामी आफ्ना नागरिकमा धेरै केन्द्रित छौं र यदि यो कठिन अवस्थामा कुनै विद्यार्थी वा अस्थायी भिसामा रहेकाले आफूलाई सपोर्ट गर्नसक्ने अवस्था नभए आफ्नै देश फर्कन सक्ने उपायसहितको सुझाव थियो । विद्यार्थी तथा अध्ययागमनको क्षेत्रमा काम गरिरहेकाहरुको भनाइ मान्ने हो भने पनि प्रधानमन्त्री मरिसनको भनाइ स्पष्ट छ । उहाले भन्नुभएको थियो, ‘हामी अहिलेको अवस्थामा विद्यार्थीलाई उल्लेख्य सहयोग गर्न असमर्थ छौं । त्यसैले आफ्नै देशमा सहज महसुस हुने विद्यार्थी र अस्थायी भिसामा रहेकाहरु फर्किन चाहन्छन् भने फर्किन सक्छन् ।’

प्रधानमन्त्रीको विचार आएको भोलिपल्टै निमित्त अध्यागमन मन्त्री एलन टजले विज्ञप्तिमार्फत् यसै कुरालाई प्रष्ट पार्नुभयो । उहाले आउने ६ महिनासम्म आफूलाई सपोर्ट गर्नसक्ने अवस्था नभए अस्थायी भिसामा रहेका नागरिकले आफ्नै देश फर्किने प्रबन्ध चाँडै मिलाउनसमेत सुझाएको थप प्रष्ट पारिदनुभयो । अहिले अस्ट्रेलियामा ५ लाख ६५ हजार विदेशी विद्यार्थी अध्ययनरत रहेको तथ्यांक छ । त्यतिमात्र नभएर यहाँको श्रमबजारमा समेत विद्यार्थीको उल्लेख्य योगदान छ । त्यसैले पनि अस्ट्रेलियाले विद्यार्थी फिर्ता पठाउँछ वा केही समाचारले भनेजस्तो उर्दी जारी गरेको भन्ने कुरा सही नभएको जानकारहरु बताउँछन् ।