जनता टाइम्स

२५ चैत्र २०७६, मंगलवार २०:०४

सुदूरपश्चिम प्रदेशमा ‘र्यापिड टेष्ट’का लागि नमूना सङ्कलन


शेरबहादुर सिंह \ भीमदत्तनगर, २५ चैत

कञ्चनपुरमा कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि काठमाडौँबाट आएको प्राविधिक टोलीले ‘र्यापिड टेष्ट’ लागि आज यहाँको भीमदत्तनगरस्थित बैजनाथ स्कूलमा रहेका ७० जनाको स्वाब र रगत नमूना सङ्कलन गरिरहेको छ ।

सुदूरपश्चिममा सङ्क्रमणको जोखिम उच्च रहेको भन्दै सङ्घीय सरकारले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छ सदस्यीय टोली यहाँ पठाएको थियो । आजदेखि टोली दुई समूहमा विभाजन गरिएर कञ्चनपुर र कैलालीका स्वाब र रगत सङ्कलनमा जुटेको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालयले जनाएको छ । स्वाब सङ्कलनका लागि कञ्चनपुर आउने टोलीको नेतृत्व सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालयका ल्याब टेक्निसियन नारायण ढुङ्गानाले गर्नुभएको छ ।

ढुङ्गाना नेतृत्वको टोलीमा काठमाडौँबाट आउनुभएका तीन जना स्वास्थ्यकर्मी सम्मिलित छन् । ल्याब टेक्निसियन ढुङ्गानाले आज बिहान कैलालीको गोदावरी नगरपालिकामा रहेको सेनाको ब्यारेकमा स्थापना गरिएको क्वारेन्टाइनबाट २१ जनाको स्वाब सङ्कलन गरिएको बताउनुभयो ।

टोलीलाई कञ्चनपुरसँगै कैलालीको गोदावरी नगरपालिकाको स्वाब सङ्कलनको जिम्मासमेत दिइएको निर्देशनालयले जनाएको छ । “ब्यारेकमा सङ्कलन गरिएको स्वाब सेनाको हेलिकप्टरबाट काठमाडौँ आजै लैजाने कुरो भएकाले ब्यारेकमा स्वाब राखेर हामी महेन्द्रनगर आइपुगेका छौँ ।” ढुङ्गानाले भन्नुभयो, “यहाँ वैजनाथ स्कूलमा बसेका ७० जनाको स्वाब लिनुपर्ने माथिबाटै निर्देशन छ ।” उहाँले स्वाब सङ्कलनमा समय लाग्ने गरेको बताउँदै सङ्कलनमा स्वास्थ्यकर्मीको टोली सावधानीका साथ खटिएको जानकारी दिनुभयो ।

वैजनाथ स्कूलमा नेपाली र भारतीय गरी ७० जना आश्रय लिइरहेका छन् । आश्रितको सुरक्षालगायतका प्रबन्ध सशस्त्र प्रहरी बलको ३५ नम्बर गणको टोलीले गरिरहेको छ । कञ्चनपुरका नौ वटा स्थानमा स्थापना गरिएका क्वारेन्टाइनमा हालसम्म छ महिला र १६४ पुरुष गरी १७० जना बसेका छन् । उहाँले सङ्कलित नमूना काठमाडौँ पठाएर पिसिआर मेशिन र्यापिड डाइग्नोष्टिक टेष्ट कीटबाट परीक्षण गरिने बताउनुभयो ।

त्यसैगरी कैलालीकोमा पनि केन्द्रबाट आएको टोलीले लम्कीचुहा नगरपालिकामा रहेको क्वारेन्टाइनमा स्वाब सङ्कलन गरिरहेको छ । कोभिड–१९ कैलालीका सम्र्पक व्यक्ति जयसिंह भण्डारीले लम्कीमा अहिलेसम्म ४५ जनाको स्वाब सङ्कलन भएको खबर प्राप्त भएको बताउनुभयो । “अहिले त्यहाँ नमूना सङ्कलनको काम भइरहेको छ ।” भण्डारीले भन्नुभयो, “लम्कीमा स्वाब लिन खटिएको टोलीको नेतृत्व टीकापुर अस्पतालका ल्याब टेक्निसियन मीनबहादुर कुँवरले गरिरहनुभएको छ ।” कैलालीमा ३९ स्थानमा क्वारेन्टाइन स्थापना गरिएको छ । त्यहाँ सोमबार साँझसम्मको तथ्याङ्कअनुसार ७१ महिला र ३८० पुरुष गरी ४५१ क्वारेन्टाइनमा रहेका छन् ।

अछाम सेना नमूना सङ्कलनमा

त्यसैगरी गरी नेपाली सेना र स्वास्थ्यकर्मीको टोलीले सुदूरपश्चिमको पहाडी जिल्ला अछाममा स्वाब सङ्कलन गरिरहेको कोभिड–१९ अछामका सम्र्पक व्यक्ति देवदत्त जोशीले जानकारी दिनुभयो । “अहिलेसम्म बैलपाटामा ५१ जना होमक्वारेन्टाइनमा बसेकाको स्वाब लिइएको छ ।” जोशीले भन्नुभयो, “अहिले मङ्गलसेनमा सङ्कलन हँुदैछ र त्यसपछि कमलबजार जाने तयारी छ ।”

उहाँले सेनाको स्वास्थ्यकर्मीको टोलीमा नेपालगञ्जबाट ल्याब टेक्निसियन आएको जानकारी दिनुभयो । “अछाममा क्वारेन्टाइन बसेका ५६ जना छन् ।” उहाँले भन्नुभयो, “उहाँले भन्नुभयो, “होम क्वारेन्टाइनमा बसेका शङ्कास्पद लक्षण देखिने व्यक्तिको स्वाब लिनेका हुँदैछ ।” अछाममा दश वटा स्थानमा क्वारेन्टाइन स्थापना गरिएका छन । त्यहाँ आठ महिला, १२ बालबालिका र ३६ जना पुरुष क्वारेन्टाइनमा बसिरहेका छन् ।

यसअघि पनि नेपाली सेनाको काठमाडौँबाट आएको स्वास्थ्यकर्मीको टोलीले सुदूरपश्चिमका विभिन्न जिल्लाबाट स्वाब सङ्कलन गरेको थियो । सोही सङ्कलनको जाँच गर्दा कञ्चनपुरको बेदकोट नगरपालिकाका एक जना पुरुषमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो ।

सुदूरपश्चिममा कोरोना सङ्क्रमित देखिएका चारै जनाको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार भइरहेको छ । सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । रासस अछाम संवाददाता होम साउदले भारतलगायत अन्य क्षेत्रबाट अछाम आउनेको सङ्ख्या यकिन भइनसकेको जानकारी दिनुभयो । उहाँले मङ्गलसेनमा मात्रै ९९० जना भारत अन्यबाट आएका बताउनुभयो ।

सम्बन्धित निकायको सम्र्पकमा बाहिरबाट आएका रहेपनि क्वारेन्टाइन बस्न थोरैले मानेको साउदले जानकारी दिनुभयो । सोमबारसम्म सुदूरपश्चिममा २३० को स्वाब नमूना सङ्कलन गरिएका छ । यसमा १७१ को रिपोर्ट आउँदा चार जनामा पोजेटिभ र ५९ को रिपोर्ट आउन बाँकी रहेको छ ।