जनता टाइम्स

२८ चैत्र २०७६, शुक्रबार १२:०६

त्रिविका जेठ महिनासम्मका सबै परिक्षा स्थगित


काठमाडौं, चैत २८

त्रिभुवन विश्वविद्यालयले जेठसम्म गर्ने गरी यसअघि निकालेका परिक्षाका सबै सूचि स्थगित गरेको छ । कोरोना महामारीका कारण यसअघि नै प्रकाशित भएका परिक्षाका तालिकाहरु अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको हो ।

यसअघि नै निधारित गरिएका बैशाख र जेठका परिक्षाहरु अर्को सुचना जारी नभएसम्मका लागि स्थगित गरिएको त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिनुभयो । बिहीबार बसेको त्रिभुवन विश्वविद्यालय केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले कोरोना भाइरसको महामारीलाई मध्यनजर राख्दै यो दुई महिनासम्म सञ्चालन हुनेगरी तोकिएका सबै परीक्षाहरु अर्को सूचना प्रकाशित नभएसम्मको लागि स्थगित गरिएको विश्वविद्यालयले शुक्रबार जारी गरेको सूचनामा भनिएको छ ।

निर्णय अनुसार परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७७ साल बैशाख र जेष्ठमा संचालन गरिने विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन संकाय र शिक्षा शास्त्र संकाय तर्फका ४ वर्षे वी.एस्सी, बी.बी.एस. र बी.एड. चौथो वर्षका नियमित तथा आंशिक परीक्षाहरु स्थगित गरिएका हुन् । त्यस्तै, पोष्ट ग्राजुएट डिप्लोमा इन काउन्सेलिङ साइकोलोजी, स्कुल साइकोलोजी, र पोष्ट ग्राजुएट इन उमन स्टडीजका नियमित तथा आंशिक परीक्षा अर्को सुचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको उल्लेख छ ।