जनता टाइम्स

२८ चैत्र २०७६, शुक्रबार २२:११

भारतमा एकै परिवारका आठ नेपाली कोरोना संक्रमित


काठमाडौं, चैत २८

भारतको मुम्बईमा बस्दै आएका एक नेपाली परिवारका आठ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । गिरगाउँ चौपाटीमा बस्दै आएको सो परिवारका ११ जनामध्ये ८ जनामा संक्रमण देखिएको भारतीय संचारमाध्यमले जानकारी दिएका छन् । यो सँगै भारतमा संक्रमित नेपालीको संख्या १२ पुगेको छ । एउटै परिवारका यति धेरै सदस्यमा संक्रमण देखिएको यो पहिलो घटना हो ।

सुदूरपश्चिमको अछाम मूल घर भएका उनीहरू कामको सिलसिलामा मुम्बईमा बस्दै आएका थिए । परिवारका दुई दाजुभाइ, उनीहरूका श्रीमतीहरू र चार जना छोराछोरीमा संक्रमण देखिएको छ । सुरुमा भाइलाई ज्वरो आएको थियो र पछि मुम्बईकै कस्तुरवा अस्पताल लगेर परीक्षण गर्दा कोभिड–१९ संक्रमण पुष्टि भयो । त्यसपछि परिवारका अन्य सदस्यलाई पनि चेकजाँच गराउदा ८ जनामा भेटिएको हो ।

परिवारका दुई जनालाई मुम्बईकै पिब्लुडी अँधेरीको गेस्टहाउसमा आइसोलेसनमा राखिएको छ । अन्यलाई सेभेन हिल र कस्तुरवा अस्पतालमा राखिएको छ । यसअघि दक्षिण भारतको बैंग्लोर बस्दै आएको एक नेपाली दम्पतीमा पनि संक्रमण देखिएको थियो । नेपालको सुदूरपश्चिम बझाङ घर भएका ४५ वर्षीय पुरुष र ३५ वर्षीया महिलामा कोभिड–१९ पुष्टि भएको हो ।

उनीहरूमध्ये पहिले श्रीमतीमा दुई साताअघि संक्रमण देखिएको थियो । उनी एक भारतीय परिवारमा घरेलु कामदार थिइन् । त्यस परिवारकी एक महिला गत १२ मार्चमा लन्डनबाट आएकी थिइन् । यसैगरी दिल्लीको इस्लामिक भेलामा सहभागी भएका दुई नेपालीमा पनि कोभिड–१९ देखिएको थियो । भेलामा सहभागी भएर हरियाणाको अम्बाला र उत्तरप्रदेशको बागवात जिल्लाको खेखडा पुगेका उनीहरूमा संक्रमण देखिएको हो । दुवैको स्वास्थ्य अवस्था सामान्य छ ।