जनता टाइम्स

२९ चैत्र २०७६, शनिबार ११:३०

सानो असाबधानीले एकै परिवारका २१ जनालाई कोरोना


नयाँ दिल्ली, चैत २९

भारतमा एक व्यक्तिको सानो असावधानीले एकै परिवारका २१ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् । बिहारको सिवुन जिल्लाको पंजवार गाउँमा एकाएक कोरोनाभाइरस संक्रमितको संख्या बढेको थियो ।

शुक्रबार बिहान ११ बजेसम्ममा बिहारभरि जम्मा ६० जना संक्रमित फेला परेका छन् । तीमध्ये २१ जना एकै परिवारका हुन् । गाउँमा अरु आठ जनासहित २९ संक्रमित भेटिएका छन् । सबै जनालाई एकै व्यक्तिबाट संक्रमण फैलिएको बताइएको छ । उक्त गाउँका दुई युवा २१ मार्चमा खाडीबाट फर्किएका थिए । उनीहरु क्वारेन्टिनमा बसेका थिए । तर, त्यही दिन ओमानबाट आएका युवा गाउँ डुल्दै हिँडेका थिए ।

ती युवाको ३ अप्रिलमा आएको कोरोनाभाइरस परीक्षणको नतीजा पोजेटिभ आएको थियो । बिहारमा उनैले संक्रमण फैलाएको मानिएको भारतीय सञ्चारमाध्यमले जनाएको छ । उनले गाउँमा क्रिकेट खेलेका थिए भने विवाहमा पनि गएका थिए । तर, ३ अप्रिलमा उनको कोरोनाभाइरस परीक्षण पोजेटिभ आएपछि गाउँमा हङ्गामा मच्चिएको थियो ।

उक्त गाउँमा करीब १० हजार मानिस बस्छन् । उनको घरको ५० मिटरको दूरीसम्म आउने र क्रिकेट खेल्नेको सूची बनाएर ९७ जनाको परीक्षण गरिएको थियो । तीमध्ये परिवारका सदस्यसहित २९ जनाको नतीजा पोजेटिभ आएको हो । अहिले उक्त गाउँलाई भारतीय अधिकारीले ड्रोनमार्फत निगरानी गरिरहेका छन् । गाउँका कसैलाई पनि घरबाहिर जान दिइएको छैन । संक्रमण कति जनामा फैलिएको छ भन्ने यकिन तथ्याङ्क आउन समय लाग्ने बताइएको छ ।