जनता टाइम्स

३ बैशाख २०७७, बुधबार १०:३४

र्‍यापिड टेष्ट परीक्षणमा सप्तरीमा दुई जनामा पोजेटिभ देखियो


सप्तरी, बैशाख ३

सप्तरीमा दुई जनाको र्‍यापिड डाइग्नोस्टिक (द्रुत परिक्षण) किटबाट कोरोना परीक्षण गर्दा पोजेटिभ आएको छ । भारत दिल्लीको निजामुद्दिनस्थित मरकजमा सहभागी भई घर फर्केका उनिहरुलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा मङ्गलबार राति किटबाट कोरोना परीक्षण गरिएको हो ।

अस्पतालले दिएको जानकारी अनुसार खडग नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका दुई जमातीको रिपोर्ट पोजिटिभ आएपछि थप परीक्षणका लागि स्वाब धरान पठाइएको छ । तब्लिगी जमातद्वारा आयोजित निजामुद्दीनस्थित मरकजबाट आएका खडग नगरपालिकाका तीन, सुरुङ्गा नगरपालिका, तिलाठी कोइलाडी, अग्नीसाइर कृष्ण सवरण र बिष्णुपुर गाउँपालिकाका एक÷एक जना गरी सात जनाको मङ्गलबार राति आरडिटीबाट द्रुत परिक्षण गरिएको अस्पतालले जनाएको छ।

परिक्षणका लागि आठ जना आउनु पर्नेमा राजविराज नगरपालिका–१ डुमरीका एक जना जमाती परिक्षणका लागि नआएको सप्तरी प्रहरीले जनाएको छ। परीक्षणका लागि दिनभरी पर्खिएका चिकित्सकले उनीहरु राति अबेला आएपछि राति नै परीक्षण गरेका हुन्। उनीहरुले आफूहरु दिल्लीको निजामुद्दीन मरकजमा सहभागी भएर फर्किएको ३२ दिन बितेको भनेका छन् ।