जनता टाइम्स

६ जेष्ठ २०७६, सोमबार १२:३७

मानवअधिकार संबर्दनमा सबैको योगदान आवश्यक


काठमाडौं, जेठ ६

सरोकारवाला विज्ञहरुले मानवअधिकारको संरक्षण र संवद्र्धनका लागि सबै क्षेत्रको योगदान आवश्यक रहेको बताउनुभएको छ । काठमाडौँ जेसिजको ‘जेसिज सप्ताह २०७६’ का सन्दर्भमा यहाँ आयोजित ‘व्यापार र मानवअधिकार’ विषयक अन्तक्र्रिया कार्यक्रमका सहभागीले व्यापार क्षेत्रले पनि मानव अधिकारका लागि महत्वपूर्ण योगदान दिनसक्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मोहना अन्सारीले नेपालमा मानव अधिकारको क्षेत्र फराकिलो बन्दै गएको भन्दै व्यापार क्षेत्रले व्यावसायिक लाभमात्रै नहेरेर मानव अधिकारको विषयलाई पनि सम्बोधन गर्नुपर्ने बताउनुभयो । पूर्व राजदूत शम्भुराम सिम्खडाले विश्वभर मानव अधिकारको विषय पेचिलो बन्दै गएकोले हरेक क्षेत्रमा मानवता प्रदर्शन हुन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव निर्मला अधिकारीले मानवअधिकार सम्बन्धी राष्ट्रिय अन्तर्राष्ट्रिय कानूनको हरेक व्यक्ति, संस्था र प्रतिष्ठानले सम्मान गर्नुपर्नेमा जोड दिनुभयो । उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष किशोर प्रधानले मानव अधिकारप्रति व्यवसायी गम्भीर रहेको बताउनुभयो । कार्यक्रममा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमका टेक टमाटाले विश्वभर व्यवसाय र मानव अधिकारलाई एकैसाथ अगाडि बढाउन भएका प्रयासबारे अवगत गराउनुभएको थियो ।

काठमाडौँ जेसिजका अध्यक्ष जेसी भुवनकुमार श्रेष्ठले जेसिज सप्ताहको समापनका अवसरमा आयोजना गरिएका विभिन्न कार्यक्रम र बहसबाट सहभागी लाभावन्वित भएको बताउनुभयो । जेसिजले यो वर्ष स्वर्णमहोत्सव विविध कार्यक्रम गरी मनाइरहेको छ ।