जनता टाइम्स

५ बैशाख २०७७, शुक्रबार १६:३०

बेलायतमा कोरोनाबाट अर्का पूर्वगोखा सैनिकको मृत्यु


काठमाडौं, बैशाख ५ । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बेलायतमा अर्का पूर्वगोर्खा सैनिकको मृत्यु भएको छ । गोरखा जिल्ला सिरान्चोक गाउँपालिका ७ काप्रे घर भई हाल बेलायतको फार्नबरो निवासी बुद्धबल गुरुङको कोरोनाबाट मृत्यु भएको हो ।

गोखा जिल्ला गुरुङ समाजका आजीवन सदस्य समेत रहेका बुद्धबलको फ्रेम्ली पार्क हस्पीटलमा उपचारका क्रममा निधन भएको सो समाजका सल्लाहकार गणेश गुरुङले जानकारी दिनुभयो । ८३ वर्षीय गुरुङको बुधबार १०ः४५ बजे निधन भएको हो । उहाँको आर्मी नम्बर २११४१२६८ हो । उहाँ ९ वर्षदेखि बेलायत बस्दै आउनुभएको थियो ।

गुरुङ केही समयदेखि बिरामी भएपछि अस्पताल भर्ना गरिएको थियो । परीक्षणका क्रममा कोरोना संक्रमण भएको पुष्टि भएको थियो । उहाँका बेलायतमा श्रीमती, दुई छोरा, बुहारी र छोरीज्वाई छन् । उहाँका श्रीमती पनि अस्पतालमा उपचारपछि घर फर्कनुभएको छ ।

गोरखा गुरुङ समाजका अध्यक्ष फडक जित गुरुङ समाजका अग्रज व्यक्तित्वलाई कोरोना संक्रमणका कारण गुमाउनु परेको भन्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । उहाँको निधनसँगै कोरोना संक्रमणका कारण बेलायतमा मृत्यु हुने नेपालीको संख्या दर्जन नाघेको छ ।