जनता टाइम्स

५ बैशाख २०७७, शुक्रबार १७:२१

कोरोना उपचारका लागि सुदुरपश्चिममा पुगे ३४ जना बिशेषज्ञ चिकित्सक


काठमाडौं, बैशाख ५ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोकथाम नियन्त्रण र उपचारका लागि सुदूरपश्चिम प्रदेशमा ३४ जना रेजिडेन्ट चिकित्सक पठाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज नियमित मिडिया ब्रिफिङका क्रममा सो जानकारी दिनुभएको हो ।

उहााका अनुसार चिकित्सा स्वास्थ्य विज्ञान प्रतिष्ठान (न्याम्स) मा एमडी अध्ययरत चिकित्सकहरु उपचारका लागि धनगढी पुगिसकेका छन । मुख्यमन्त्रीको कार्यालय माहतत रहने गरी खटाइएको चिकित्सकहरुलाई १ महिनासम्म उपचारमा खटाउने तथा आवश्यकताअनुसार समय बढाउन सकिने प्रवक्ता देवकोटाको भनाई छ ।

नेपाल कोरोना संक्रमित १६ मध्ये ५ जना सुदूरपश्चिम प्रदेशमा देखिएको छ । धनगढीको सेती प्रादेशिक अस्पतालमा ५ जना उपचाररत छन् । पछिल्लो पटक वैशाख २ गते २ जनामा कोरोना संक्रमण देखिएको थियो । मन्त्रालयका अनुसार हाल नयाँ संक्रमित भने देखा परेका छैनन् ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या १६ रहेको छ । हाल टेकु अस्पतालमा २ जना, पाटन अस्पतालमा २ जना, धौलागिरि अस्पतालमा २ जना, धनगढीको सेती अस्पतालमा ५ जना तथा वीरगञ्जको नारायणी अस्पतालमा ४ जना उपचाररत रहेका छन् ।