जनता टाइम्स

७ बैशाख २०७७, आईतवार १२:४३

६ लाख २७ हजार रुपैयाँ तिरेर फर्किए दुई भुटानी नागरिक


काठमाडौं, बैशाख ७

भुटानले आफ्ना दुई नागरिकसँग ५ हजार १ सय ४६ अमेरिकी डलर (६ लाख २७ हजार रुपैयाँ) लिएर स्वदेश फर्काएको छ । लकडाउनका कारण अलपत्र परेका आफ्ना दुई जना भुटानी नागरिक (एकजना पाइलट र एकजना अभिनेत्री) लाई उद्धार गर्न शनिबार त्यहाँको सरकारी ध्वजाबहाक वायुसेवा ड्र्यक एयर काठमाडौं पठाएको हो ।

स्वदेश फर्किन अपिल गर्ने पाइलट सोनाम तोब्गे र अभिनेत्री उगेन छोदेनसँग चार्टरका लागि ५ हजार १ सय ४६ अमेरिकी डलर लिएर स्वदेश फर्काएको छ । उगेनसँगै १ घन्टा १५ मिनेटको उडानमा फर्किएका अर्का पाइलट सोनाम काठमाडौंमा रहेको निजी वायुसेवा कम्पनी हिमालय एयरलायन्समा आबद्ध भुटानी नागरिक हुन् । अभिनेत्री उगेनले अब २१ दिनको क्वारेन्टाइन बसाईपछि मात्रै आफ्नो घर जानेछिन् ।

चार्टर उडान खर्च भने दुवैले मिलेर जुटाएको उनले बताइन् । ‘हामीलाई जम्मा ५ हजार १ सय ४६ अमेरिकी डलर चार्टर भाडा भनिएको थियो । दुवैले बराबरी तिर्‍यौं।’ यस हिसाबले दुबैले ६ लाख २७ हजार रुपैयाँ दामाशाही तिरे । यसबाहेक यदि जहाजले पारोमा अवतरण गर्न नसकेर कुनै अर्को गन्तव्यमा आपतकालीन अवतरण गर्नुपर्ने भएमा दुवैसँग ६ हजार २ सय डलरका दरले १५ लाख रुपैयाँ अतिरिक्त सेक्युरिटी डिपोजिट पनि मागिएको थियो ।

अभिनेत्री उगेनले आफ्नोतर्फको रकम थिम्पुमा रहेका उनका बुबाले ड्र्यक एयरको भुटानस्थित बैंक अफ भुटानमा रहेको खातामा जम्मा गरिदिएको बताइन् । त्यहाँ जम्मा भएको भौचरको स्लिपको फोटोकपीसहित काठमाडौंस्थित सार्कमा आवेदन दिएपछि सार्कले नागरिक उड्डयन प्राधिकरणमा चार्टर उडानका लागि अनुमति लिइदिएको थियो ।