जनता टाइम्स

७ बैशाख २०७७, आईतवार १८:२८

कोरोनाको पुष्टि गर्ने परीक्षण अब धरान र नेपालगञ्जबाट पनि


काठमाडौं, बैशाख ७

पीसीआर मेसिनबाट परीक्षण गर्दा कोरोना भाइरस संक्रमण देखिएका नमुनाको पुनपुष्टि अब राजधानी बाहिरबाट पनि हुने भएको छ । सरकारले राजधानी बाहिर थप दुई स्थानबाट पुष्टि गर्न सकिने जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धरान र नेपालगञ्जबाट गर्न सकिने जानकारी दिएको छ । पीसीआर मेसिनमा कोरोना परीक्षण गर्दा संक्रमण देखिएमा पूर्वको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र पश्चिमको नेपालगञ्जस्थित भेरी अस्पतालको प्रयोगशालाले एकिन गर्ने मन्त्रालयले आइतबार गरेको प्रेस ब्रिफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । योसँगै अब राजधानी नै ल्याउनुपर्ने अवस्थाको अन्त्य भएको छ ।

“राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ल्याउने प्रक्रिया झन्झटिलो र लामो हुने हुँदा आजबाट पूर्वको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र पश्चिमको नेपालगञ्जको भेरी अस्पतालको प्रयोगशालाले नै अन्य पीसीआरबाट आएका नमुना परीक्षण गरेर पुष्टि गर्ने कार्य तोकिएको छ”, उहाले भन्नुभयो ।

यसअघि आरडीटी परीक्षणमा कोरोना पोजेटिभ देखिँदा पुनः पीसीआरमा परीक्षण गर्दा समेत पोजेटिभ देखिएमा थप एकिन गर्न काठमाडौं राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ल्याउने गरेको थियो ।